प्रज्जवल थापा । स्टार स्ट्राइकर सावित्रा भण्डारीले आठ गोल गरेको खेलमा नेपाल एपिएफ क्लबले फराकिलो जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरलाई १४-० गोलले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारीले आठ गोल गर्दा अनिता केसि र अनिता बस्नेतले समान २/२ गोल गरिन् । यस्तै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अनु लामा र रबिना गोलेलेपनि एक/एक गोल थपिन् । खेलको चौथो मिनेटमा अनिता केसिको पासमा सावित्राले गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिइन् ।

१८ औं मिनेटमा अनिता केसिको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । २४ औं मिनेटमा सावित्राको पासमा अनिता केसिले गोल गर्दै एपीएफलाई ३-० को स्थितिमा पुर्याइन् । ३६ औं मिनेटमा सरु लिम्बुको पासमा सावित्राले ह्याट्रिक पूरा गरिन् । ४० औं मिनेटमा सावित्राको पासमा अनिता केसिले गोल गर्दै एपिएफलाई फराकिलो जिततर्फ अगाडि बढाएकी थिइन् । ४३ औं मिनेटमा सरुको पासमा सावित्राले गोल गरिन् । पहिलो हाफको अतिरिक्त समयमा सरुको पासमा अनिता बस्नेतले गोल गर्दै एपिएफलाई ७-० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा ७ गोल गरेको एपीएफले दोस्रो हाफमापनि थप ७ गोल गर्यो । ५३ औं मिनेटमा सावित्राले व्यक्तिगत पाँचौ गोल गर्दै एपिएफलाई ८-० गोलले अगाडि बढाइन् । ५६ औं मिनेटमा प्रितिको पासमा सावित्राले गोल गर्दै खेलको दोस्रो ह्याट्रिक पूरा गरिन् । ६४ औं मिनेटमा सावित्राको पासमा अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गरिन् । ७२ औं मिनेटमा अनिता केसिको पासमा सावित्राले व्यक्तिगत सातौं गोल गरिन् । ७५ औं मिनेटमा सावित्राको पासमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी अनु लामाले गोल गरिन् । ७९ औं मिनेटमा सावित्राकै पासमा रबिनाले गोल गरिन् । ८७ औं मिनेटमा संगिता घिसिङको पासमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दै एपीएफलाई १४-० गोलको फराकिलो जित दिलाइन् ।
यससँगै नेपाल एपिएफ क्लबले आफ्नो अपराजित यात्रालाई सातौं खेलसम्म लम्ब्याएको छ । लिगको एकमात्र अपराजित टोली एपिएफ ७ खेलमा २१ अङ्क जोड्दै शिर्ष स्थानमा छ । हालसम्म अङ्कको खाता खोल्न नसकेको चौदण्डीगढी तालिकाको पुछारमा छ ।
तस्बिर:- एन्फा
