एजेन्सी । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिडले लगातार चौथो जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको म्याड्रिडले रियल सोसिडाडलाई २-१ गोलले पराजित गरेको हो ।
इटाडियो मुनिसिपाल डे एनोएटामा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन किलियन एम्बाप्पे र आन्द्रा गुलेरले समान एक/एक गोल गरे । सोसिडाडको लागि मिकेल ओयार्जाबालले एक गोल फर्काए । खेलको १२ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ३२ औँ मिनेटमा डिन हुज्सेन रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।
४४ औँ मिनेटमा एम्बाप्पेको पासमा गुलेरले गोल गर्दै म्याड्रिडको अग्रता दोब्बर बनाए । ५६ औँ मिनेटमा ओयार्जाबालले पेनाल्टीमा गोल गर्दै सोसिडाडलाई २-१ गोलको स्थितिमा ल्याएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्याड्रिड २-१ गोलले विजयी भएको हो ।
जितसँगै म्याड्रिड ४ खेलबाट १२ अंक जोडेको अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट दुई अंक जोडेको सोसिडाड १७ औँ स्थानमा रहेको छ ।
