-रञ्जनकुमार दाहाल
के तपाईंलाई थाहा छ, बंगलादेशले जापानका उच्च गुणस्तरका Refurbished वा पुनःप्रयोग गर्न मिल्ने गरि बनाईएका गाडीहरू प्रयोग गर्छ ? कार मात्र होइन, ठूला ट्रक र बस समेत उनीहरूले पर्यावरणमैत्री इञ्जिन भएका, टिकाउ र भरपर्दा पुनः प्रयोगको जापानी गाडीहरू प्रयोग गर्छन् । ९०% कार को बजार जापानी पुनः प्रयोग टोयोटा गाडीको छ ! ढाकाको सडकमा टोयोटाको पुनःप्रयोग प्राडो, कोरोला, प्रियस जस्ता गाडीहरू सजिलै देख्न सकिन्छ । यी कारहरुको मूल्य १० देखि १५ लाख टाका मात्र पर्छ। यदि नेपालमा पनि उस्तै नीति आएर नियमपूर्वक २४०% कर लगाइयो भने पनि एक Refurbished टोयोटा प्राडोको मूल्य करिब ३५ लाख नेपाली रुपैयाँ पर्छ, ठ्याक्कै अहिले हामीलाई जबर्जस्ती किनाइएका असुरक्षित, असजिलो र पर्यावरणमैत्री नभएका भारतीय बोलेरो डबल क्याब पिकअप बराबर !
कल्पना गर्नुहोस् , नेपालको २४०% कर तिरेर पनि, राम्रो जापानीज गाडी १५–२० लाखमै बजारमा उपलब्ध हुने । सडक बिगार्नमा नम्बर एक यमराज टाटा टिपर ट्रक को सट्टा, हामीसँग अति बलिया हिनो, इसुजु, मित्सुबिसी ट्रक हुने, जसले सुरक्षित, सडकमैत्रि, इन्धन–कार्यक्षम र पर्यावरणमैत्री सेवा दिने । तर हाम्रो नीति भने अर्कै छ—यो केवल भारतका ‘सलाई बट्टा’ गाडीहरू खरिद गर्न समर्थन गर्छ, जसले न त सुरक्षा दिन्छ, न सुविधा, न हाम्रो अर्थतन्त्रलाई फाइदा । बंगलादेश, पाकिस्तान र श्रीलंका, यी सबै देशहरू पर्यावरण र उत्सर्जनबारे सचेत छन्, तर तिनले जापानी Refurbished गाडी आयात गर्छन्। जसले उनीहरूको अर्थतन्त्रलाई बलियो बनाएको छ। जनताले बोलेरो जस्ता अति कष्टकर गाडीमा यात्रा गर्नु पर्दैन ।
नेपालीहरु भने अझै पनि उल्लु बनिरहेका छन् । हामीलाई ‘चुच्चे नक्सा’ र ‘इम्बोस्ड नम्बर’ को राष्ट्रियतामा भुलाइरहेका छन् । तर वास्तविक मुद्दा के हो भने—हामीलाई भारतका असुरक्षित र कम गुणस्तरका गाडी जबर्जस्ती पर्यावरणको नाममा किनाउन लगाइएको छ । यसले हाम्रो अर्थतन्त्र चुसिरहेको छ। तर यो कसैलाई मुद्दा बनेको छैन । राजाको बेलामा काठमाडौं र पोखरामा टोयोटाका गाडीहरु ट्याक्सीको रुपमा प्रयोग गरिने गरेको थियो । २०४६ सालको प्रजातन्त्र पछि जनताले चुनेर शासन गर्न पठाएकाहरुले पर्यावरणको नाममा पत्यै नपाई भारतीय गाडीमात्र भित्रने नियम बनाईदिए । नेपालमा अहिले राम्रा सडकहरू बन्न थालेका छन् । अब हामीलाई प्रसस्त सुरक्षित, आरामदायी र पर्यावरणमैत्री गाडी चाहिन्छ, भारतका सलाईबट्टे गाडी होइन । अब जाग्ने बेला भएको छ । देशप्रेम भन्ने कुरा केवल खोक्रा नारामा र तुकनबुकको घाकमा होइन, बलियो अर्थतन्त्र, सुरक्षित वातावरण र जनसुरक्षालाई प्राथमिकता दिने निर्णयमा देखिनुपर्छ ।
भारतीय गाडीहरुको एकाधिकार तोड्दै, जापानी पुनःप्रयोग हुने गाडीलाई नेपाल भित्रन दिने वातावरण बनाउँ । नेपाललाई अब वास्तविक परिवर्तन चाहिन्छ, ‘चुच्चे नक्सा र इम्बोस्ड नम्बर’ स्टाइलको ललीपप राष्ट्रियता धेरै खाए नेपालीले, अब सहि अर्थको राष्ट्रियता देखाउने कि ?