विराटनगर । मोरङ कारागारमा एक महिला कैदी मृत भेटिएकी छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान कारागारको महिला सेलमा रहेको शौचालयभित्र मृत भेटिएकी जेलर गौरव ढुंगेलले जानकारी दिएका छन् ।
उनका अनुसार, सुनसरी जिल्ला अदालतले ०८१ कात्तिक ७ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो । उनी ०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनामा थिइन् । राधा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोसी नहरमा हामफालेकी थिइन् ।
उनीसहित एक सन्तानको उद्धार गरिएको थियो । अर्को सन्तानको ज्यान गएको थियो । त्यसपछि उनीविरुद्ध कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाइएको थियो ।