देवनागरीमा हुनुपर्ने इम्बोस्ड नम्बर प्लेट किन अंग्रेजीमा ?

काठमाडौं । साउन २० गतेको मन्त्रीस्तरीय निर्णय भन्दै यातायात व्यवस्था विभागले सवारी साधनमा असोज १ गतेसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्न अनुरोध गरेको छ । विभागले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको हो । साउन २० गतेको बैठकले सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयहरूले असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नविकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको थियो ।

विभागले यसरी इम्बोस्ड नम्बर जडान गर्न ताकेता गरेपछि अहिले यो विषय फेरि बहसमा आएको छ । यातायात व्यवसायीले त तत्काल नम्बर जडान गर्न नसक्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर रहेका यातायात कार्यालयमा इम्बोस्ड नम्बर प्लेट लगाउने प्रविधिको विकास नभएकाले तत्काल उक्त निर्णय कार्यान्वयन गर्न नसकिने बताएको हो । व्यवसायी र उपभोक्ताले सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् भने अर्काथरीले भने इम्बोस्ड नम्बरको भाषाका विषयमा प्रश्न उठाएका छन् । उनीहरुले इम्बोस्ड नम्बर अंग्रेजीमा राखिएको भन्दै त्यसलाई देवनागरी लिपी बनाउनुपर्ने बताएका छन् ।

पूर्वसचिव भीम उपाध्याय इम्बोस्ड नम्बर नेपाली भाषा र देवनागरी लिपीमा हुनुपर्ने बताउँछन् । उनी पैसा असुल्ने तर स्मार्ट लाईसेन्स जस्तो ४ वर्षसम्म कार्ड नदिने जस्तो गर्न इम्बोस्ड  नम्बर प्लेटमा नपाइने र दुई दिनभित्र दिन नसकेमा ग्राहकलाई हर्जाना तिराउने व्यवस्था गर्नुपर्ने बताउँछन् ।

नागरिक अगुवा एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षित एम्बोस्ड नम्बरप्लेट देवनागरी लिपीमा हुनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘फेरि पनि भन्छु, र भनिनैरहन्छु–एम्बोस्ड नम्बरप्लेट देवनागरीमा हुनुपर्छ, जसरी बंगलादेशमा बांग्ला लिपीमा छ । डिजिटल टेक्नोलजीको युगमा अंग्रेजीमा उतार्न सकिने नम्बरप्लेट देवनागरीमा पनि सहजै सकिन्छ । बुझिदिनु होला, मैले एम्बोस्ड नम्बरप्लेट ‘देवनागरी’ मा हुनुपर्छ भनेको छु, ‘नेपाली’ भनेको छैन । र यो ‘राष्ट्रवादी पहिचान’ को कुरा नभई तर्क, टेक्नोलजी, जनसुरक्षा, तथा ट्राफिक नियमनमा आधारित सवाल हो ।’

पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला जनताले इम्बोस्ड नम्बर सवारीसाधनमा जडान नै गर्न नहुने बताउँछन् । उनी यसको जरो कारण खोज्नुपर्ने र यस काण्डको रचयिताको खोजी गर्नुपर्ने बताउँछन् ।

यस्तो छ डा. युवराज संग्रौलाको भनाई

इम्बोस्ड नम्बर हरेक दृष्टिकोणबाट त्रुटिपूर्ण छ ।
१. तर यसको जरो कारण खोज्नुपर्छ । को थियो यस काण्डको रचयिता ? त्यो व्यक्ति वा समूहको खोजी गरेर नाम बाहिरी ल्याएपछि, यो कस कसको फाइदाको लागि ल्याएको हो थाहा हुन्छ । कुनै पनि देशभक्त मानिसले सोच्न सकिने कुरा होइन ।

२. अलिकति पहिलादेखि हेरौं । स्कुलका नाम विदेशी संस्था, पादरी, फुटबल खेलाडी के के हो के के का नाममा छन् । त्यसपछि गाउँमा खोलेका भात खाने होटल पनि विदेशी नाममा आउन थाले । स्कुल र कलेजमा पढ्ने विद्यार्थीका नाम जोन र जेम्स हुन थाले । अहिले इम्बोस्ड नम्बर आयो ।

३. मातृभाषा सबै नाश हुँदैछन् । यो इम्बोस्डको चक्कर एकातिर भ्रष्टाचार अर्कातिर राष्ट्रघातमा संलग्न मानिसहरुको खेल हो । समाजको आधुनिकताको क्रममा एउटा भुइँफुट्टा बुर्जुवा जमात जन्मिछ । त्यो जमात विदेशीका लागि काम गर्छ र विदेशी जस्तो बन्न खोज्छ । अहिले नेपाल यस्तैबाट डसिएको छ । इम्बोस्डको खुलेर विरोध गर्नु आवश्यक छ । वकिलहरुले बोल्नुपर्छ । कहिले कहिले भद्र आन्दोलन पनि गर्नुपर्छ । समग्र जनताले यो नम्बर नहालौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *