नन्दनको शानदार बलिङमा नेपालको पहिलो जित

काठमाडौं ।  मध्यम गतिका बलर नन्दन यादवले शानदार बलिङ गरेपछि अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । मंगलबार दिउँसो भएको आफ्नो तेस्रो खेलमा नेपालले होबर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।

जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको हुरिकेन्सले १६.१ ओभरमा अलआउट हुँदै १ सय १४ रनमात्र बनाउन सक्यो । हुरिकेन्सको लागि ब्राड्ली होपले ३१, चार्ली वाकिमले २८, जाक कर्टेनले २१ र टिम वार्डले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि नन्दन यादवले ३ ओभरमा १७ रन दिएर पाँच विकेट लिँदा कप्तान रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । आरिफ शेखले २६ बलमा ३ चौकाको मद्दतमा सर्वाधिक ३३ रन बनाउँदा लोकेश बमले ११ बलमा तीन चौका र १ छक्काको बिस्फोटक इनिंस खेल्दै नेपाललाई बलियो योगफलमा पुर्याएका हुन् ।  यस्तै आसिफ शेखले २९, कुशल भुर्तेलले २७, भीम शार्कीले १८, कप्तान रोहित पौडेलले ९ र कुशल मल्लले ६ रनको योगदान गरे ।

हुरिकेन्सको लागि निभेथन राधाकृष्ण र राफ म्याक्मिलनले दुई/दुई विकेट लिँदा मार्कुस बिन, गेब बेल र बार्डी होपले समान एक/एक विकेट लिए ।

जितसँगै नेपाल ४ खेलबाट २ अंक जोड्दै तालिकाको आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट समान दुई अंक जोडेको हुरिकेन्स नेटरनरेटको आधारमा नवौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *