काठमाडौँ । पूर्वराजदूतहरुले नेपालको एक चीन नीतिप्रति आशंका गरेका छन् । चीनका लागि नेपालका पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले बिहीबार संयुक्त अपील जारी गर्दै नेपालको परराष्ट्र नीतिको आधार मानिएको ‘एक चीन’ नीतिप्रतिको प्रतिबद्धतालाई दृढतापूर्वक कायम राख्न सरकारलाई आग्रह गरेका हुन् ।
उनीहरुले असार २२ गते नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा १४औँ दलाई लामाको ९९औँ जन्मदिन मनाइएको र उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको भन्ने समाचारप्रति चासो व्यक्त गरेका छन् ।
अपीलमा नेपालले विगतदेखि नै ‘एक चीन’ नीति दृढतापूर्वक अवलम्बन गर्दै आएको, आफ्नो भूमिलाई कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराइएको छ ।
हालै परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणका क्रममा समेत यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्वराजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आएको हो ? भन्ने प्रश्न गरेका छन् ।
उनीहरूले उक्त कार्यक्रम सरकारको सहमतिमा आयोजना भएको भए त्यसले नेपाल–चीन सम्बन्धको आधार मानिएको ‘एक चीन’ नीतिमाथि प्रश्न उठ्ने र नेपालले अपनाउँदै आएको भूराजनीतिक सन्तुलनमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने बताएका छन् ।
उनीहरुले यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने उल्लेख गर्दै भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न सरकार र सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।
साथै, छिमेकी मुलुकसँगको सम्बन्धप्रति संवेदनशील रहँदै नेपालको दीर्घकालीन राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
