काठमाडौं । कोरोना संक्रमण बिरुद्ध खोप उत्पादन गर्न आक्रामक बनेको चीनले नेपाललाई कोरोना भाइरसको पाँच लाख भ्याक्सिन अनुदान सहयोगमा दिने भएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा छलफल गर्ने क्रममा चीनले ५ लाख डोज खोप दिने घोषणा गरेको हो ।
कोरोनाविरुद्धको खोपमा नेपाललाई प्राथमिकता राखेको समेत वाङ यीले प्रतिवद्धता जनाएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ज्ञवालीले सहयोगका लागि चीनलाई धन्यवाद दिएका थिए। अहिलेसम्म चीनले बनाएका कोरोनाविरूद्धका भ्याक्सिनलाई नेपालमा प्रयोग अनुमति भने दिइएको छैन।
