काठमाडौं । उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बार एसोसिएसनले असन्तुष्टि व्यक्त गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी बारले न्यायाधीश नियुक्ति सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
बारले असन्तुलित नियुक्तिले न्याय प्रणालीप्रतिको जनविश्वासलाई कमजोर बनाएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाजस्तो महत्त्वपूर्ण अंगमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ।’
विज्ञप्तिमा न्यायाधीशको नियुक्ति योग्यता र क्षमताका आधारमा हुनुपर्नेमा जोड दिँदै न्यायिक सुधारका प्रतिवेदनहरू केवल ’देखाउने आलङ्कारिक दस्तावेज’ मात्र बनेको र त्यसको कार्यान्वयनमा सम्बन्धित पक्ष उदासीन रहेको उल्लेख छ।
बारले न्याय परिषद्को साझेदार हुँदाहुँदै पनि यस्तो महत्त्वपूर्ण निर्णय गर्दा बारको सरोकारलाई पूरै बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। न्याय परिषदले बिहीबार उच्च अदालतमा २७ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

