-सुरेश आचार्य ।
‘पानी पर्छ’ भनी पूर्वानुमान गरेकोमा २४ घण्टामा पनि वर्षा नभएपछि ती ‘फेल’ भए, राजा फर्काउनेले जेठ १५ गते राजगद्दीमा बसाउन नसकेपछि ती पनि ‘फेल’ भए ! तर सिंगापुर र स्वीटजरल्याण्ड बनाउँछु भन्नेहरू चतुर थिए । उनीहरूले कुनै समय सीमा नतोकेकोले बाँचुन्जेल जनतालाई उल्लु बनाउने मौका जनताले आलोपालो दिदैंआएका छन् ।
‘हिन्दूका पिछे ज्ञान’ भन्ने उहिल्यैदेखि सुन्दैआएको थिएँ, हो रहिछ भन्ने लाग्न थाल्यो । सातपटक आम निर्वाचन भएर सरकारमा ८४ फन्को लगाइसके, देशलाई न सिंगापुर बनाए, न त स्वीटजरल्याण्ड, बरू सबै युवालाई इस्लाम देश (खाडी मुलुकहरू र मलेसिया) तर्फ धकेलेर पठाइदिए । नबवालक र बुढेसकालका सहारा छोराछोरीहरूलाई विदेश धकेल्ने मनुवाहरूलाई नेपाली मतदाताले भोट हालेका हाले छन् अन्धाधुन्ध ।
त्यतिमै कुरो कहॉ सकिन्छ र ? पाइपबाट भान्सामा ग्यॉस ल्याउने, धोवीखोलामा पानीजहाज चलाउने र चन्द्रमाको परिक्रमा गर्ने भूउपग्रह बनाएर नेपाल छिट्टै रकेट यूगमा प्रवेश गराउँछु भन्दा पनि नेपाली मतदाताले पत्याएकै छन् । पहिले पनि चुनावपछि ४ तोलाको सून बुलाकी र एउटो दुहुनो गाई दिन्छौं भन्नेलाई हामीले तँछाडमछाड गरेर भोट हालेकै हो । न हाम्रा आमा, दिदीबहिनीले सुनको बुलाकी पाए, न त लैनो गाई देख्न पाए ।
‘जे चीज छैन, त्यो दिन्छु भन्नु पर्ने’ नेपालको आमचुनावको मेनिफेस्टो बनाउनु पर्ने रहेछ, चुनावमा बहुमत ल्याउनलाई । ‘राजा छँदैछन् निर्मल निवासमा, अनि राजा फर्काउँछु’ भनेर यी राजावादीहरूले नारा दिनु नै मेरो विचारमा tacticle error हो !
पृथ्वीनारायणले ‘दक्षिणका बनिया महाचतुर छन्’ त्यसै भनेको हो र ? अहिलेका यी त महाचतुरहरू सबै दक्षिणमै हुर्के बढेका हुन् नि ! दक्षिणप्रेरित महाचतुरसँग यी राजावादीहरूले कसरी जुध्लान् भनेर विचरा पृथ्वीनारायण पनि स्वर्गमा चिन्तित भएर रूदै होलान् ! यही महाचतुराईंलाई भन्छन्-smart politics !