काठमाडौं । चीनले रसुवागढी नाकामा आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने भएको छ । ल्हेन्दे खोलामा आएको बाढीले बगाएको मितेरी पुलको ठाउँमा चीनले आइतबारदेखि बेलिब्रिज निर्माण सुरु गर्ने भएको हो ।
नेपाल सरकार र चीनबीच भएको समझदारी अनुसार चिनियाँ पक्षले बेलिब्रिज निर्माण सुरु गर्न लागेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् ।
चीनले आगामी भदौ ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने छ । सीमा नाकामा अवरुद्ध सडक सम्पर्क शीघ्र सुचारु गर्न अस्थायी रूपमा बेलिब्रिज निर्माणका लागि शनिबार रसुवाका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले निर्माणस्थलको अवलोकन गरेको थियो ।
त्यस्तै, शनिबार नै रसुवा र चीनका स्थानीय अधिकारी बीच निर्माणस्थलबाटै भर्चुअल बैठक सम्पन्न भएको छ । बैठकका क्रममा विपदको समयमा भएका उपद्वार, राहत एवम् विपदपश्चातको पुनर्निर्माण र पुनस्र्थापनाका विषयमा विस्तृत रूपमा द्विपक्षीय छलफल भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
प्रस्तावित बेलिब्रिजको यथाशीघ्र निर्माण सम्पन्न गर्नका लागि स्थानीय प्रशासनबाट उपयुक्त वातावरण निर्माणका गर्न आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त भएको छ ।
पछिल्लाे पटक गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो ।
त्यसअघि २०७२ सालको महाभूकम्पले सो पुल क्षति पुर्याएकाे थियो । क्षतिग्रस्त पुलमाथि अस्थायी बेलिब्रिज बनाएर आवतजावत सुरु गरिएको थियो । भूकम्पको दुई वर्षमा पुलको पुनः निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएएकाे थियो ।
