काठमाडौँ । नेपाल शिक्षक महासङ्घले सरकारले आफूसँग विगतमा भएका सहमतिबाट पछि हटेको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको छ । महासंघले सोमबार विज्ञप्ति जारी गरी सरकारले विद्यालय शिक्षा विधेयकमा शिक्षक–कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएको हो ।
महासङ्घले यसअघि भएको ८९ दिने आन्दोलन र त्यसपछिका सहमतिको स्मरण गराउँदै सरकारले आफ्ना प्रतिबद्धता पूरा नगरेको बताएको छ ।
असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्धतामा जनाएपनि प्रतिबद्धता अनुरूप आजको मितिसम्म विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस हुन नसकेको महासंघले जनाएको छ ।
संसदीय समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बङ्ग्याउने, तोडमरोड गर्ने तथा आम शिक्षक–कर्मचारीको भावना, शिक्षण पेसाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्धहरू अघि बढाउने प्रयत्न भएको विज्ञप्तिमा उल्लेख छ ।




