देशको प्रधानमन्त्रीले विज्ञप्ति निकालेर मसँग विदेश गएका सबै फर्के भन्नपर्ने ?

-नारायण गाउँले ।

देश यसै बदनाम छ । राजनीतिक दल या नेतृत्वप्रतिको रिस या शत्रुतालाई देशको थप बेइज्जत गर्न प्रयोग नगरौँ । अलिकति सोधखोज, अनुसन्धान, संवेदनशीलता र तथ्यबिनै प्रधानमन्त्रीको विदेशभ्रमण दलबाट उनीबाहेक अर्को कोही फर्केन भन्नेजस्तो प्रचारले हाम्रो राजनीतिक ईगोलाई मलजल त होला तर त्यसले जानीनजानी देशको विश्वसनीयता नराम्ररी घटाउँछ । एउटा देशको प्रधानमन्त्रीले विज्ञप्ति निकालेर मसँग विदेश गएका सबै फर्के भन्नपर्ने अवस्था एमाले या ओलीको मात्रै बेइज्जती होइन । प्रधानमन्त्रीलाई मानवतस्करको रूपमा प्रचार गर्दै गर्दा ओलीको मात्रै होइन, देशकै छवि र क्रेडिट बिग्रने हो । उच्चस्तरीय भ्रमण दलमा विभिन्न पेशा, व्यवसाय र विज्ञताका मान्छे हुन सक्छन् । सबै एउटै विमानबाट नफर्किन पनि सक्छन् । उद्योगवाणिज्य सङ्घको प्रतिनिधि एक महिना त्यतै बसेर लगानी र प्रविधिको अध्ययन गर्न सक्छ ।

भ्रमण दलको खुला लिस्ट हुन्छ । कम्तिमा को लुक्यो भन्ने त सजिलै सोधखोज गर्न सकिन्छ । कोही सँगै नफर्किएको भए त्यसको कारण र औचित्य सोध्न सकिन्छ । प्रमाणसहित, आधारसहित यस्तो विषयमा खबरदारी र विरोध त एकदम जरूरी हुन्छ । तर एउटाको रीस फेर्न देशको काखमा –त्ने काम ठीक होइन । हामीले संसदसम्म तथ्य र आधारबिनै यस्तो प्रसङ्ग उठाएपछि अन्य देशले हामीलाई तस्कर नै ठान्छन् । हाम्रो जवाफ सुनेर धारणा बनाउने भन्ने हुँदैन । भोलि ओलीको ठाउँमा अर्को प्रधानमन्त्री होला । तर ऊ तस्करकै कोटिको हुन्छ । हाम्रो भाषा र प्रचार नै त्यस्तै छ ।

विरोधकै लागि विरोध गर्दा एक त हाम्रो सबैभन्दा बलियो हतियार ‘विरोध’ पनि भुत्ते हुँदै जान्छ र गलत गर्नेहरूको बल बढ्दै जान्छ । अर्को कुरो देशको छवि पनि धमिलो हुन्छ, जुन सङ्लिन दशकौं लाग्छ । आन्तरिक विषयमा राजनीति गरौँ तर यस्ता अन्तर्राष्ट्रिय विषयमा कम्तिमा तथ्य र प्रमाण बटुलेर मात्रै बोलौँ ! अलिकति मिहिनेत त गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *