काठमाडौँ । जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गाली गरेपछि अध्यक्ष यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयले अपराधिक उपद्रवविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
बिहीबार राति जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई धम्काएछि शुक्रबार दिउँसो सर्लाही प्रहरीले उनीविरुद्ध जाहेरी लिएर अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो । यादव र एसपी खड्काबीच फोनमा विवाद भएको अडियो सार्वजनिक भएको थियो ।
सार्वजनिक अडियोमा यादवले एसपीलाई ‘को हो तिमीहरू’ भन्दै अपशब्द बोलेको समेत सुनिन्छ । अध्यक्ष यादवले एसपी खड्कालाई ‘तपाईं लुटेराहरू’ भन्दै गाली गरेपछि एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको सुनिन्छ । अध्यक्ष यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपीलाई लुटेरा भन्दै धम्क्याएका थिए।
सर्लाहीमा पछिल्लो समय तस्करी नियन्त्रणमा प्रहरीले जति सक्रियता देखाएको छ, त्यति नै ठूलो विवाद पनि चुलिँदै गएपछि यादवले धम्क्याएका थिए।
जिल्लामा तस्करीको नाममा निर्दोष नागरिकहरूलाई मुद्दामा फसाइने र असली तस्करहरूलाई जोगाइएको आरोप खेप्दै आएको प्रहरीमाथि अध्यक्ष यादवले अपशब्द प्रयोग गरेका थिए ।