काठमाडौं । बिहीबारको प्रतिनिधिसभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेता र न्यायाधीशहरुको कल डिटेल सार्वजनिक गर्न माग गरे । सांसद सिंहले मुद्दा प्रभावित पार्न कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायाधीशसँग कुरा गर्ने गरेको भन्दै नेता र न्यायाधीशको कल डिटेल सार्वजनिक गर्न माग गरे । सांसदले यस्तो आरोप लगाइरहँदा कानुनमन्त्री पनि बैठकमा उपस्थित थिए । सांसद सिंहले कानुनमन्त्रीको नामै लिएर यस्तो बताएपछि सभामुख घिमिरेले नाम लिएर अभिव्यक्ति नदिन सांसद सिंहलाई सचेत गराए । सभामुखले सचेत गराएको केहीबेरपछि कांग्रेसकी सचेतक सुशीला थिङले कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने अभिव्यक्तिमा आपत्ति जनाइन् । उनले भनिन्, ‘सदस्यले बोलेको कुरा सभाको तत्काल विचाराधीन रहेको विषयसँग सम्बन्धित हुनुपर्नेछ भनिएको छ । तर कानूनमन्त्रीको कल डिटेलको कुरा सम्बद्धता भएन । त्यो रेकर्डबाट हटाइयोस् ।’
तर सांसद सिंह त्यतिमै रोकिएनन् । सांसद सिंहले भने, ‘कानूनमन्त्रीले बिहान बिहानै जिल्लाको मुद्दा प्रभावित गर्न परे एक नम्बर र उच्चमा छ भने मुद्दा प्रभावित पार्न मुख्य न्यायाधीशलाई फोन गर्ने गरेको थाहा छ । कानूनमन्त्रीको कल डिटेल आयो भने थाहा हुन्छ । मन्त्रीले न्यापरिषद्मा कुरा राख्ने हो, न्यायाधीशलाई फोन गरेर न्यायालय प्रभावित गर्न पाइँदैन ।’ सांसद सिंहले कानूनमन्त्रीले न्यायाधीशलाई पटक–पटक फोन गरेको आफूसँग सूचना रहेको दाबी गरे । उनले कल डिटेल गल्ती भयो भने आफू सांसद पद त्याग्न समेत तयार रहेको बताए ।
हुन त अमरेशको यो अभिव्यक्ति नौलो भने होइन । यहाँ मन्त्री हुँदा आफूले प्रधानन्यायाधीशलाई अन्तरिम आदेश खारेज गर्न लगाएको गर्वका साथ भन्ने नेता नै छन् । केही समयअघि पूर्वमन्त्री रामकुमारी झाँक्रीले आफू मन्त्री हुँदा सर्वोच्च अदालत गएर प्रधानन्यायाधीशलाई भेटेर एउटा मुद्दामा अन्तरिम आदेश खारेज गराएको भन्ने भिडियो भाइरल नै छ । अन्तरवार्ताका क्रममा उनले भनेकी थिइन्, ‘दश बजे सर्वोच्च अदालत गएँ, प्रधानन्यायाधीशलाई भेटेँ। घरबेटीको मुद्दाको ‘स्टे अडर’ खारेज गर्न लगाएँ ।’ झाँक्री सहरी विकास मन्त्री हुँदा चोलेन्द्र शम्सेर राणा प्रधानन्यायाधीश थिए । झाँक्रीले जुन कुरा भनेकी छन्, त्यो कुरा सानो होइन । यसबाट के स्पष्ट हुन्छ भने न्यायपालिकामाथि कार्यपालिकाको ठाडो हस्तक्षेप छ । सबैभन्दा महत्वपूर्ण कुरा, यति सानो विषयमा प्रधानन्यायाधीशलाई त मन्त्रीले सिधै प्रभावित गर्न सक्छन् भने अब भन्नुस्, भागबण्डामा न्यायाधीश भएकाहरूले महत्वपूर्ण विषयहरूमा के, के गर्छन् होला ?
एकजना मन्त्रीले नै आफ्नो कार्यकालमा गरेको यस्तो काम गर्वका साथ भनेपछि अमरेश सिंहले कानुनमन्त्रीमाथि लगाएको आरोप पत्याउने त होला नि ?
अधिवक्ता माधवकुमार बस्नेत अमरेश र झाँक्रीको अभिव्यक्ति सुनेपछि के हामी यस्तै अवस्थामा पुगेका हौं ? भन्दै प्रश्न गर्छन् । उनको भनाई छ, ‘केही समयअघि रामकुमारी झाँक्रीले मुद्दाको विषयमा प्रधानन्यायाधीश भेटेको भन्नुभयो । अहिले फेरि अर्को कुरा आयो । जवाफ दिने कोही छैन । हामी कस्तो अवस्थामा पुग्यौं ? कठै ! च्वः च्वः च्वः ।