किन गर्नु एमाले र माओवादीलाई गाली ?

-नारायण गाउँले

एमाले र माओवादीलाई अहिले गाली गर्नु अर्थहीन छ । दुबैले रवि लामिछानेको केसमा पनि छानबिन गर्नु नपर्ने अडान लिएका थिए । राजीनामाको त माग पनि भएको थिएन । सहकारी सम्बन्धी छानबिन समिति बनाउन समेत जरूरी नरहेको भन्ने रास्वपाको अडानमा केपी ओली र प्रचण्डको पूर्ण साथ थियो । ओलीले खुलेर रविको प्रतिरक्षा गरेका थिए । अझ महान्याधिवक्ताबाट कुनै मुद्दा नभएको प्रमाणपत्रसमेत उपलब्ध गराइएको थियो । दोहोरो पासपोर्ट केसमा मुद्दा नचल्ने निर्णय गराउने प्रचण्ड नै थिए । सहकारी काण्डमा प्रहरीले नियमित छानबिन गर्नसक्ने तिनको तर्क थियो । कांग्रेसकै एकल जोडबलमा छानबिन समिति बनेको थियो ।

आज पनि सरकारको प्रत्यक्ष नियन्त्रणमा नरहने संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको केसमा छुट्टै छानबिन समिति बनाउन नपर्ने र कर्मचारी मुछिएको केसमा गृहमन्त्रीले राजीनामा दिन नपर्ने भन्ने तिनको अडान देखिन्छ । यो घूसखोरी दशौं वर्षदेखि मिडियामात्रै होइन, अदालतसम्म पुग्दै आएको विषय हो ।

ओली र प्रचण्ड फेरिएका होइनन् । हिजो जस्तो अडान थियो, आज पनि त्यही छ । फेरिएको कांग्रेस र रास्वपा हो । गाली या ताली तिनलाई दिने हो । हिजो मिडियादेखि सीआईबीसम्म त्यत्रो प्रश्न उठेपछि छानबिन समिति मागेको कांग्रेसलाई त्यो जरूरी नभएको ओली र प्रचण्डको वयानमा ताली बजेको थियो । शेयर र कोट भएको थियो । मिडिया ट्रायल हुँदैमा छानबिन जरूरी नभएको रास्वपाको अडान थियो । कांग्रेसले प्रश्न उठेपछि छानबिन हुनुपर्ने भन्दै समिति नबन्दासम्म रवि लामिछानेलाई सदनमा बोल्नसम्म दिएको थिएन । अहिलेकै गृहमन्त्रीले एक बित्ता उफ्रिँदै अनेक दृष्टान्त र उपदेशसहित राजीनामा मागेका थिए । हिजो कार्यक्रमसँग सम्बन्धित नै नभएका व्यक्तिलाई पैसा खाएर भिसाका लागि चिठी लेख्ने आरोप लागेकी उपसभामुखलाई समेत छानबिन या राजीनामा जरूरी नभएको भनिएको थियो । त्यसमा पनि ओली र प्रचण्डले राजीनामा मागेका थिएनन् ।

आज मिडियामा जोडिएको प्रसङ्गकै आधारमा रास्वपाले गृहमन्त्री संलग्न भएको भन्दै राजीनामा मागेको छ । उसका नेताले मानव तस्कर भन्दै स्ट्याटस लेखेका छन् । कांग्रेसचाहिँ देशको यत्रो अन्तर्राष्ट्रिय बेइज्जत भएको केसमा छानबिन समेत जरूरी नभएको तर्क गर्दै छ । तिनै गृहमन्त्री कम्तिमा सदनमा विनम्रताका साथ यो मुद्दामा इमान्दार र पारदर्शी रूपले अनुसन्धान र कारबाही हुन्छ भन्नुको साटो ठाडो भाषामा अहम् प्रदर्शन गर्दै छन् । मानौं, यो माखो मरेको जत्तिको घटना पनि होइन । आज लेखकजी राजनैतिक प्रतिशोधको कुरो गर्दैछन् ।

आज ठ्याक्कै फेरिएको कांग्रेस र रास्वपा हो । आफ्नो केसमा चाहिँ प्रतिशोध हुने र अर्कोको केसमा दोषी करार हुने तर्क यी दुई पार्टीको हो । कम्तिमा यतिबेला माओवादीको होइन । यस विषयमा ओलीलाई गाली गर्नुको कुनै तुक छैन । हिजो जुन धरातल तिनले टेकेका थिए, आज पनि ती त्यहीँ छन् । हिजो ती कांग्रेसलाई बिझाएका थिए, आज रास्वपालाई बिझाएका छन् । हिजो ती गलत थिए भन्नेका लागि ती आज पनि गलत छन् । हिजो सही लागेको भए आज पनि ती सही नै छन् । धोका दिएको प्रचण्डले होइन, उनले त बरु धोका खाएको हो ।

आफू अनुकूल नहुनेबित्तिकै सबैलाई सोलोडोलो मुछ्ने काम ठीक होइन । हिजो छानबिन हुन नदिन रास्वपा जिम्मेबार थियो, आज कांग्रेस जिम्मेबार छ । ताली या गाली उसैको हक हो ! यदि हिजोको स्वाद फेर्नमात्र नभई नागरिक र राष्ट्रको हितका लागि भिजिट भिसा प्रकरणमा रास्वपा उभिएको हो भने उसले एक्लै पनि यसलाई टुङ्गोमा पुर्याउन  सक्छ । लड्न सक्छ । फेससेभिङ्का लागि मात्रै होइन, सिस्टमकै धमिरो हटाउन अर्थपूर्ण छानबिन समिति आवश्यक छ । हिजो होस् कि आज, लोकतन्त्रमा मिडियादेखि पब्लिक र पार्टीसम्मले प्रश्न उठाएपछि त्यसबारे छानबिन हुनैपर्छ । जवाफदेहिता लोकतन्त्रको आत्मा हो । शक्ति या दलीय स्वार्थका लागि त्यसलाई दबाउन मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *