दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार  सम्पन्न फाइनलको चौथो दिनमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै दक्षिण अफ्रिकाले पहिलोपटक टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो ।

जितको लागि २ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले चौथो इनिंसको ८३.४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकालाई जित दिलाउन एडिन मार्क्रमले सतक पूरा गरे । उनले २ सय ७ बल खेल्दै १४ चौकाको मद्दतमा १ सय ३६ रन बनाए । यस्तै कप्तान टेम्बा बाभुमाले ६६, वाण मुल्डरले २७, डेभिड बेडीन्घामले २१, त्रिस्टान स्टुब्सले ८ र रायब रिकेल्टनले ६ रनको योगदान गरे ।

अष्ट्रेलियाको लागि मिट्चेल स्टार्कले तीन विकेट लिँदा जोश हज्लेवुड र प्याट कमिंसले एक/एक विकेट लिए ।

यसअघि लड्समा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ५६.४ ओभरमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो । अष्ट्रेलियाको लागि बेउ वेब्स्टरले ७२, स्टेभेन स्मिथले ६६, एलेक्स क्यारीले २३, मार्नुस लाबुसेनले १७, ट्रेभिस हेडले ११ र क्यामेरोन ग्रिनले ४ रन बनाएका थिए ।

दक्षिण अफ्रिकाको लागि कागिसो रबडाले पाँच, मार्को जेन्सनले तीन तथा केशव महाराज र एडिन मार्क्रमले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले ५७.१ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाको लागि डेभिड बेडीन्घामले ४५, कप्तान टेम्बा बाभुमाले ३६, रियान रेकेल्टनले १६ र कल भेर्रेनेले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

अष्ट्रेलियाको लागि प्याट कमिंसले ६ विकेट लिँदा मिट्चेल स्टार्कले दुई र जोश हज्लेवुडले एक विकेट लिए ।

पहिलो इनिंसबाट ७४ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो इनिंसमा ६५ ओभरमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो । अष्ट्रेलियालाई सम्मानजनक स्कोरमा पुर्याउन मिट्चेल स्टार्कले सर्वाधिक ५८, एलेक्स क्यारीले ४३, मार्नुस लाबुसेनले २२ र स्टेभेन स्मिथले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान गर्न सकेनन् ।

दक्षिण अफ्रिकाको लागि कागिसो रबडाले चार, लुंगी एन्गिदीले तीन तथा मारको जेन्सन, वाइन मुल्डर र एडिन मार्क्रमले समान एक/एक विकेट लिए ।

यससँगै दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलोपटक आईसीसी ट्रफी जितेको हो । यसअघि दक्षिण अफ्रिकाले सन् १९९८ मा बंगलादेशमा भएको च्याम्पियन्स ट्रफी जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *