पोखरा । पोखराका सुनचाँदी पसल सञ्चालक आफ्नै कर्मचारीको हनी ट्रयापमा परेका छन् । पोखरा महानगरपालिका ४ स्थित सुनचाँदी पसलका सञ्चालकलाई उनकै पसलमा काम गर्ने महिलाले २ जना केटा साथीको सहयोगमा हनी ट्रयापमा पारेको कास्की प्रहरीले जानकारी दिएको छ ।
ती महिलाले दुई जना केटासाथीसँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्ने योजना बनाएको खुलेको छ । योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए ।
ती महिलाले आफ्नो लागि जीनदगीभरको लागि पुग्ने धनसम्पत्ती, बस्ने घर र व्यवसायको लागि व्यवस्था गरिदिन माग गरेका थिए । यसका लागि ५० लाख रुपैयाँ नदिए श्रीमान्लाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएका थिए । पीडित महिलाले यसरी रकम माग गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीमा गराएकी थिइन् ।
त्यसपछि खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका १५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको बिराटचोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको छ ।
उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
उनीहरुलाई आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको पनि डीएसपी बस्नेतले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट रकम बार्गेनिङ गरेको अडियो समेत फेला पारेको छ ।
