नजिकिँदै कांग्रेस-माओवादी, एमालेसँग दूरी बढ्न थालेको हो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सत्तारुढ दल कांग्रेस र एमालेबीच तिक्तता बढेको थियो । गभर्नर पद खाली हुनु एक महिनाअघि नै नियुक्ति गर्नुपर्नेमा खाली भएको एक महिना भन्दाबढी समयसम्म नियुक्ति हुन सकेको थिएन । त्यतिनै बेला माओवादी अध्यक्ष प्रचण्डले यो गठबन्धन धेरै लामो नजाने बताउँदै आएका थिए । त्यतिबेला माओवादी केन्द्र ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’मा थियो । जेठ २ गते माओवादी अध्यक्ष प्रचण्ड डडेल्धुरा पुगेका थिए । डडेल्धुराबाट प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरे । देउवासँग टेलिफोनमा कुराकानी भएको कुरा प्रचण्डले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने, ‘यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेलधुरामा स्वागत भन्नुभएको छ।’ जेठ २ गते बिहान प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भएको थियो । त्यसैदिन दिउँसो माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र देउवाबीच भेटवार्ता भयो । देउवालाई भेट्न शर्मा बुढानिलकण्ठ पुगेका थिए । भेटमा देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको शर्माले समाजिक संजालमार्फत नै जानकारी गराए । शर्मा देउवा प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए । बिहान प्रचण्डको फोन र दिउँसो जनार्दन भेट्न गएपछि कतै गठबन्धन परिवर्तन हुन लागेको त होइन भन्ने आशंका पनि गरिए । आशंका जेजे गरिएपनि गठबन्धन उहीनै छ । तर गभर्नर नियुक्तिमा कांग्रेसले ठूलै दबाब दिएर मात्र प्रधानमन्त्री गभर्नर नियुक्ति गर्न तयार भएका थिए ।

पछिल्ला केही दिनदेखि नेपाली राजनीति भिजिट भिसा प्रकरणले तताएको छ । गृह मन्त्रालयका सहसचिव एवं विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले अनुसन्धान सुरु गरेपछि माओवादीलगायत विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनमा मागेर सदन अवरुद्ध गर्दै आएका छन् । सुरुमा गृहमन्त्रीको राजीनामा बटमलाइन बनाएको माओवादी अहिले राजीनामा छाडेर छानबिन समितिमा झरेको छ । माओवादीले राजीनामाको बटमलाइन छाडेपछि कांग्रेस–माओवादी नजिकिएको रुपमा बताउन थालिएको छ ।

दुई दल नजिकिएको अर्को घटना पनि छ । पतञ्जलि प्रकरणमा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि त्यसबारे बुझ्न देउवाले प्रचण्डलाई फोन गरेका थिए । यसबारे प्रचण्डले शुक्रबार पत्रकारहरुलाई जानकारी गराएका हुन् । फोनमा देउवाले माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्दाको विषयमा जिज्ञासा राखेका थिए । जवाफमा प्रचण्डले सत्तापक्षको नेता भएको कारण तपाईंलाई नै थाहा होला भनेर देउवालाई भनको थिए । फोनवार्ताबारे प्रचण्डले भने, ‘देउवाजीले झूट बोल्नुहुन्न । हिजो फोन गरेर सोध्नुभयो– के भएको हो ? माधवमाथि मुद्दा कसरी दर्ता भयो ? भनेर । उहाँले मलाई सोध्नुभयो, म त अचम्ममा परेँ । उल्टै मैले भन्नुपर्ने– तपाईंलाई थाहा छैन ?’ प्रचण्डले देउवाको शैली सिधा र स्पष्ट हुने भएकाले उहाँसँग सल्लाहमा बसेर मुद्दा लगाइएको नभएको आफूले बुझेको बताए ।

सदनको गतिरोध हटाउने विषयमा प्रचण्डले देउवासँग छुट्टै वार्ता गर्ने तयारी गरेका छन् । जेठ ६ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम थियो । तर प्रधानमन्त्री अस्वस्थ रहेको भन्दै संसदमै गएनन र प्रश्नोत्तर कार्यक्रम स्थगित भयो । तर गभर्नर नियुक्ति नगरेको भन्दै सोही दिन देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गए । त्यहाँ देउवाले प्रधानमन्त्रीलाई गभर्नर नियुक्ति नहुने हो भने जे पनि हुनसक्छ भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिएको खबर बाहिर आएको थियो । देउवाको चेतावनीपछि प्रधानमन्त्रीले सोही दिन मन्त्रिपरिषद बैठक राखेर गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरे ।
गभर्नर नियुक्तिमा दुई दलको रस्साकसी, गृहमन्त्रीको राजीनामाबाट माओवादी पछि हट्नु अनि सत्ता साझेदार प्रमुख दलको सभापतिले माधव नेपालविरुद्ध मुद्दा दायर भएको घटना बुझ्न उल्टै प्रतिपक्षी दलको नेता प्रचण्डलाई टेलिफोन गर्नुले सत्ता साझेदारमा दरार उत्पन्न भएको विश्लेषण गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *