-डा. युवराज संग्रौला ।
जब सोच विचारको अन्त्य हुन्छ, तब चरम अराजकता जन्मन्छ । नेपाल चार ध्वस्तको सामना गरिरहेको छ, र यो भूराजनीतिको पराकाष्ठा हो । नेपाली नागरिक रनभुल्ल छन् । के भैरहेको छ थाहा छैन।
१. राष्ट्र त स्वाधीन छ, तर राज्य व्यवस्थाको स्वनिर्णयको सामथ्र्य वा क्षमता ध्वस्त पारिएको छ । अतः राष्ट्रले नियोजित नियन्त्रित अस्थिरताको चरम पीडा भोगिरहेको छ । राज्य व्यवस्था ध्वस्त पार्ने खेल देशको स्वाधीनता समाप्त गर्ने खेल नै हो ।
२. अर्थतन्त्र ध्वस्त पार्ने खेल उतिकै गम्भीर छ । उत्पादन विसर्जन, उत्पादन र खपतको सन्तुलन भताभुङ्ग, बचत विसर्जन र बजारमा माफिया नियन्त्रण भएपछि अर्थतन्त्र पूर्णरुपमा विसर्जनको बाटो लाग्छ । अहिले त्यस्तै हुने बाटो तयार भएको छ ।
३. सामाजिक मर्यादा, वैयक्तिक मान र सम्मान र सामाजिक शिलमाथि कठोर आक्रमण गर्दै घृणा र परपीडनको संस्कृति निर्माण गर्नेको नियन्त्रण कायम भएको छ । सामाजिक संजालमा भिजिलान्तेको नियन्त्रण र सामाजिक संजालका सूचनाका आधारमा मिडिया ट्रायलबाट सामाजिक जीवन ध्वस्त हुने खतरा टड्कारो छ । न्यायपालिकाको स्वतन्त्रतामािथ कठोर प्रहार भैरहेको छ। हरेक न्यायाधीश गुगल ट्रायलका शिकार हुनुपर्ने अवस्था छ । व्यक्ति दोषी हुन सक्छ तर उसको पुर्पक्ष अदालतले गर्ने हो मिडिया र सामाजिक संजालले होइन ।
४. सांस्कृतिक विरासत ध्वस्त अर्को चुनौती हो । अब नेपाल नेपाल देखिन छोडेको छ । अब प्रत्येक व्यक्ति अर्को व्यक्तिको प्रहारको शिकार हुने संभावना छ । स्वच्छ र निष्पक्ष न्यायको स्थान गुगल ट्रायलले लिइरहेको छ। कोही सुरक्षित छैन । जसले जो माथि जे आरोप लगाएपनि हुन्छ र त्यसलाई समर्थन गर्ने गुप्त संयन्त्रहरु छन् ।
जब राजनीतिमा विचारको स्खलन हुन्छ । जब समाजमा मानिसलाई जोड्ने मूल्य स्खलन हुन्छन् र मानिसको आर्जनको स्वनिर्भरता समाप्त हुन्छ, जीवन असुरक्षित बन्छ । हामीले सडकमा कसैका मोहरा बन्न छोडेर देश हेर्नुपर्छ । जनताको समृद्धिको उपाय सोच्नुपर्छ भन्ने हेक्का मर्दैछ । यो समय नै हो विवेकको पुनर्निर्माणमा लाग्ने । अवस्था जति खराब हुन्छ व्यवस्था त्यतिनै राम्रो ल्याउन सकिन्छ ।
