इन्टरलाई हराउँदै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति भएको एकपक्षीय फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई ५-० गोलले हराउँदै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

एल्लिनाज एरिनामा भएको फाइनल खेलमा पीएसजीलाई जित दलाउन डिजायर डोउएले दुई गोल गर्दा अचार्फ हकिमी, ख्विचा ख्वाराट्सखेलिया र सेनी मायुलुले समान एक/एक गोल गरे । खेलको १२ औँ मिनेटमा हकिमीले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । २० औँ मिनेटमा डोउएले गोल गर्दै पीएसजीलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

६३ औँ मिनेटमा डोउएले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । ७३ औँ मिनेटमा ख्वाराट्सखेलियाले गोल गर्दै पीएसजीलाई खेलमा ४-० गोलले अगाडि बढाए । यस्तै ८६ औँ मिनेटमा मायुलुले  गोल गर्दै पीएसजीलाई ५-० गोलको जित दिलाएका हुन् ।

यससँगै पीएसजीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यसअघि पीएसजी २०१९/२० को फाइनलमा बायर्न म्युनिखसँग १-० गोलले पराजित भएको थियो । यता इन्टर भने तीन वर्षमा दुईपटक फाइनलमा पुगेरपनि उपविजेतामा चित्त बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *