उर्जामन्त्रीका दुःख !

काठमाडौं । गत बिहीबार पटक–पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमार्फत सरकार र प्राधिकरणप्रति असन्तुष्टि पोखे । कुलमान घिसिङलाई प्राधिकरणबाट हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्ति गरेपछि यसरी विजुली गएको भन्दै उपभोक्ताले सरकार र प्राधिकरणप्रति अक्रोश पोखेका हुन् । खासगरी प्राधिकरणका कार्यकारी निर्देशकको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उपभोक्ता, दलका नेताहरुले प्रश्न उठाएका हुन् । हास्य कलाकार केदार घिमिरे(माग्नेबुढा) ले सामाजिक संजालमा यस्तो लेखे,

सालो त सालो कस्को सालो सालो ।
त्यो सालो आएसी अन्धकार र कालो ।।

माग्नेबुढाको स्टाटसलाई सामाजिक संजालमा भाइरल बनाइयो । बत्ती जाने समस्यापछि भोलिपल्टै प्राधिकरणले पत्रकार सम्मेलन गरी अब नेपालमा लोडसेडिङ नहुने बतायो । पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक शाक्यले ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको बताए । दिउँसो पत्रकार सम्मेलन गरी प्राधिकरणले यस्तो बताएपनि त्यही विजुली आपूर्तिमा समस्या भने कायमै छ । सिंहदरबारमा संसदीय दलको बैठकसमेत बत्ती नभएर मोबाइलको लाइट बालेर बसेको दृष्य सांसदहरुले नै सार्वजनिक गर्दै आएका छन् ।

यसरी प्राधिकरणको नेतृत्वमाथि नै आक्रमण भएपछि उनको बचाउमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाकार विष्णु रिमाल नै उत्रिए । रिमालले बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै गरेको उल्लेख गरे । उनले भनेका छन्, ‘श्री हितेन्द्र शाक्यजी ! तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ। प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ । तर सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ। बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो। देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।’

प्राधिकरणले विद्युत आपूर्तिमा भएको समस्याबारे जानकारी गराउनु स्वाभाविकै हो र त्यो गर्नुपनि पर्छ । त्यस्तै प्राधिकरणको नेतृत्वमाथि निरन्तर आक्रमण भएपछि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको पनि बचाउ गर्नु स्वभाविकै हो । किनकी प्राधिकरणको विरोध गर्नु सरकारकै विरोध गर्नु हो ।

तर यहाँ सबैभन्दा दुःख र समस्यामा भने उर्जामन्त्री दीपक खड्का परेका छन् । कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको तयारी हुँदै थियो । गत चैत ६ गतेको राष्ट्रियसभाको बैठकमा मन्त्री खड्काले नेपालमा अब साँझको समय लोडसेडिङ हुने बताए । यतिमात्र होइन उनले उद्योगमा लोडसेडिङ भइरहेको र अब आमसर्वसाधारणको घरमा पनि लोडसेडिङ हुने बताए । उनले भनेका थिए, ‘आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’ त्यतिमात्र होइन मन्त्री खड्काले नेपालमा लोडसेडिङको अन्त्य गर्न सहयोग गरेकोमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भन्दा पनि भारतलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।

अहिले विजुली आपूर्तिको समस्या कुलमान हटाइसकेपछिको हो । कुलमान हुँदा लोडसेडिङ हुने बताएका मन्त्री खड्काले बुधबार पूर्वाधार विकास समितिको बैठकमा भने लोडसेडिङ सामाजिक सञ्जालको हल्लामात्रै भएको बताए । बैठकमा मन्त्री खड्काले बजारमा आएका हल्लाहरू सस्तो लोकप्रियताका लागि आएको बताए । उनले आफूलाई विदेशमा बसेकाहरुले राति फोन गरेर लोडसेडिङ भयो भनेर हैरानी दिने गरेको गुनासोसमेत गरे । बैठकमा उनले भने, ‘विदेशबाट फोन आउँछ, म फोन उठाउँछु । अनि हामी कहाँ बत्ती गयो भन्छन् । यसरी भ्रम फैलाउने काम भएको छ । त्यहाँ बुझ्दा सबैतिर छ । यो खालको एउटा दुष्प्रचार प्रसार गरिएको पाइन्छ ।’

कुलमान हुँदा घरघरमा लोडसेडिङ हुन्छ भनेर अफवाह फैलाउने अनि अहिले लोडसेडिङ हुँदैन भन्ने मन्त्रीका कुरा सुनेर वैज्ञानिक महावीर पुनलाई रिस उठेछ । उनले सामाजिक संजालमा लेखे, ‘ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ । त्यस्तो दृष्ट व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर उनीहरुले हटाउने छाँटकाँट देखिएन । बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *