काठमाडौं । आफ्नै भान्जाको अपहरणपछि हत्या गरी फरार भएका अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मुजफ्फापुर निवासी ४५ वर्षीय राजेश कुमार गुप्ता नातामा मामा रहेको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले सर्लाहीको मलंगवाबाट शनिबार पक्राउ गरी उनलाई काठमाडौं ल्याएको हो । पत्रकार सम्मेलनमार्फत आइतबार सार्वजनिक गर्दै २०६४ साल असोज २४ गते गुप्ताले राई स्कुल जोरपोटीमा कक्षा ७ मा अध्ययनरत रोहित गुप्तालाई अपहरण गरेको उल्लेख गरेको छ ।
मृत्यक रोहितका बुबा बासुदेवसँग अभियुक्तले २ लाख ५० हजार फिरौती मागेको थिए । सो रकम बुझाएर पनि अपहरणमुक्त नगरी ३ दिनपछि असोज २७ गते बालकको शव कमलादीस्थित गणेश मन्दिर सडक पेटीमा फेला परेको थियो । अभियुक्तले हत्यापछि शव भरियालाई बोकाएर कमलादीको सडकमा लगेर फ्याकिदिएको अनुसन्धानबाट खुलेको छ ।
घटनामा संलग्नता रहेको खुलेपछि प्रहरीले २०६४ मंसिर १२ गते धादिङका विष्णु सुनारको समेत पक्राउ गरेको थियो । उनी अहिले पनि कारागारमै रहेका छन् ।