-नारायण गाउँले ।
कसैले झुकाउन नसक्ने ठानिएका डोनाल्ड ट्रम्पलाई एप्पल र एनभिडियाजस्ता ठूला कम्पनीले झुक्न बाध्य बनाएका छन् । ट्रम्पले केही दिनअघि चिनियाँ सामानको आयातमा १२५% कर लगाउने घोषणा गरेका थिए । चीनले पनि अमेरिकी आयातमाथि त्यति नै कर लगाउने घोषणा गरेको थियो । चीनले यो ट्यारिफ–युद्धमा आत्मसमर्पण नगर्ने सङ्केत देखिएपछि र चीनसँग ठूलो व्यापारिक सम्बन्ध रहेका अमेरिकी कम्पनीको दबाबपछि ट्रम्प पछि हट्ने अवस्था बनेको हो ।
शेयर बजार ध्वस्त भएर ट्रिलियन डलर स्वाहा भएपछि तीन महिनाका लागि अन्य देशसँगको करलाई स्थगित गरेको अमेरिकाले फोन, कम्प्युटर, विद्युतीय उपकरण, सेमिकन्डक्टर र सोलार सेलजस्ता आयातलाई करको दायराभन्दा बाहिर राख्ने निर्णय गरेको हो ।
चीनसँगसँगै विश्वका दुई ठूला अमेरिकी कम्पनी एप्पल र एनभिडिया यसबाट लाभान्वित हुनेछन् । आइफोन मूलतः चीनमै बन्ने हुनाले यो कर कायम रहँदा त्यसको अमेरिकी बजार मूल्य दोब्बर हुने थियो । शेयर मूल्य त त्यसै झरेको थियो, आइफोनको मूल्य दोब्बर हुँदा त्यसको व्यापार पनि झर्ने र विश्वकै मूल्यवान् कम्पनीको भविष्य अनिश्चित बन्ने अवस्था थियो । अब भोलि बजार खुल्दा एप्पलको शेयर मूल्य उल्लेख्य रूपले बढ्ने अनुमान छ । केही दिनदेखि रातो बनेको विश्वभरको शेयर बजार हरियो देखिने अनुमान गर्न सकिन्छ ।
चीनको सबैभन्दा ठूलो अमेरिकी एकल निर्यात आइफोन नै रहेछ । अब त्यसैमाथि ट्यारिफ नलाग्ने भएपछि यो प्रकरण बड़ो रोचक बन्नेछ । आइफोन, सेमिकन्डक्टर र कम्प्युटरको उत्पादन अमेरिकामै गर्ने नाराका साथ यो ट्यारिफ युद्ध सुरु भएको थियो तर ठीक तिनै वस्तुमाथि पो उल्टो ट्यारिफ हट्ने देखियो । अझ त्यो पनि ब्याकडेटेड भएर गत ५ तारिखबाट लागू भएको मानिने गरी । व्यापारघाटा त पुरानै हो तर गत केही महिनामैं अमेरिकाले आफ्ना सहयोगी देशदेखि शुभचिन्तक, इज्जत, विश्वास र व्यक्तित्व सबै कुरामा घाटा बेहोरेको देखिन्छ ।