काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बा नेपाल आएकी छिन् । आफ्नो जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ को प्रदर्शनको अवसर पारेर दर्शकसँग भेटघाट गर्न नेपाल आएको उनले जानकारी दिइन् ।
ग्रिसमा व्यावसायिक फुटवल खेलिरहेकी कप्तान आज बिहान १० बजे कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनले भनिन्, “दर्शकको माया देखेर म नेपाल नआई रहन सकिन् । मेरो जीवनले केहीलाई पनि प्रेरित गर्यो भने चलचित्र बनाएको सफल हुन्छ भन्ने जस्तो लाग्छ । यो चलचित्रले सङ्घर्षले सफलताको महत्व बुझाउन मदत गर्छ ।”
उनले आमाको मेहनत, सङ्घर्ष र विश्वासले आफूले सफलता हासिल गर्न सफल भएको र चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेमकुमार श्रेष्ठकै हौसलाले आफू अभिनय पनि गर्न सफल भएको बताइन् । “मेरो भूमिका भए पनि म अभिनय गर्न तयार छु भन्ने विश्वास निर्देशकसहितको टिमले दिनुभयो । यो मेरा लागि पनि नयाँ अनुभव रह्यो, निकै खुसी छु”, उनले भनिन् । नेपाल बसाइँको क्रममा उनले शुक्रबार र शनिबार काठमाडौँ र आइतबार मोफसलका दर्शकसँग साक्षात्कार गर्ने जानकारी निर्देशक चाम्सले दिए ।
चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय गरेका छन् ।
