मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशका तत्कालीन सचिव डा. नम्रता सिंहसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले सोमबार सिंहसहित आठ जनाविरुद्ध एक करोड विगो दाबीसहित मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्क्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको हो ।

आयोगले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधाम धनुषाका तत्कालीन सचिव डा. सिंह, तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख (सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका संयोजक) शंकरप्रसाद साह, मन्त्रालयकै कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, मन्त्रालयकै सहलेखापाल ब्रजेशकुमार साह, युवरानी मत्स्य तथा कृषि फार्म प्राललीका सञ्चालक र अध्यक्ष लक्ष्मीनारायण यादवलाई एक एक करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै मधेश प्रदेशका तत्कालीन पशु चिकित्सक रंजितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालय, धनुषा मधेश प्रदेशका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साहविरुद्ध पनि मुद्दा दायर भएको छ ।

यस्तै नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको विषयमा आयोगमा उजुरी परेपछि आयोगले अनुसन्धानपछि मुद्दा दायर गरेको आयोगका सहसचिव एवम प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *