कञ्चनपुर । नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताएका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्षिक साधारणसभामा नेता साउदले सहकारी बोर्डले प्रभावकारी रुपमा नियमन गर्न नसक्दा रकम अपचलनका घटनाले प्रश्रय पाउँदैगएको बताए ।
उनले सहकारीमाथिको विश्वास बचाई राख्नका लागि इमान्दारिताको आवश्यकता रहेको बताए । सहकारीको क्षेत्र निर्धारण गर्दा बैङ्कसँग समानान्तर नहुने गरी कार्य गरिनुपर्ने नेता साउदले उल्लेख गरे ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सहकारी अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताए ।
