विपक्षी दल र प्रधानमन्त्रीबीचको संवाद

काठमाडौं । विपक्षी पाँच दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । विपक्षी दलहरूले असोज ११ र १२ को अविरल वर्षाबाट राष्ट्रव्यापी क्षति भएका स्थानहरूको पहिचान गरी राहत र पुनर्स्थापनाका कार्यहरू तत्काल सुरु गर्न आग्रह गरेका छन् ।

त्यसक्रममा विपक्षी दलका नेता र प्रधानमन्त्रीबीच दल विभाजनसम्बन्धी अध्यादेश, रास्वापाका सभापति रवि लामिछाने पक्राउका विषयमा सवालजवाफसमेत भएको थियो । प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक संजालमार्फत प्रधानमन्त्री र विपक्षी दलका नेताबीच भएको संवाद सार्वजनिक गरेका छन् । यस्तो छ प्रधानमन्त्री र विपक्षी दलका नेताबीचको संवादः

विपक्षः पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो?

प्रधानमन्त्रीः मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ। अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

विपक्षः पूर्वाग्रह, तानाशाही…?

प्रधानमन्त्रीः अहिले कतिपय ठाउँमा मलाई ‘तानाशाह’ भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले पनि त्यसो गर्नु राम्रो होइन ।
मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।

विपक्षः राजनीति दलसम्बन्धी अध्यादेश …?

प्रधानमन्त्रीः विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।

विपक्षः विपद र राहतको विषय…

प्रधानमन्त्रीः मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरुको निःशुल्क उपचार भइरहेको छ, बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरुमा भएको अवरोध खुलाइएको छ। यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *