लेखनाथ न्यौपाने ।
०५९ सालको अन्त्यतिरबाट सुरु भएको रिङ्मार्च अभियान उत्कर्षतिर पुग्दै थियो । पार्टी, सेना, मोर्चा र जनवर्गीय संगठनहरु एकीकृत कमाण्डमा एउटै अभियानमा परिचालित गर्ने योजना बमोजिम हामी सबै परिचालित थियौं । जनश्रम, राजनीतिक प्रशिक्षण र संगठन निर्माण गर्ने उद्देश्यले जनताका बीचमा अभियानलाई घनीभूत बनाइएको थियोे । काभ्रेबाट मकवानपुर अभियान प्रवेश गरेपछि त्यसको सबै कामको नेतृत्व हाम्रो जिल्ला पार्टी र कमिटीको इञ्चार्ज हुनुको नाताले मेरो काँधमा आएको थियो । हामीले जनताको घरघर गएर श्रम गर्यौं । कहिले मल बोक्यौं त कहिले मकै गोड्यौं । कहिले खेत जोत्यौं त कहिले खेतका डल्ला फुटायौं । बाटो बनायौं, कुलो सफा गर्याैं । धारा बनायौं, विद्यालय हाता सफा गर्यौं । अनि चौतारा बनायौं, गल्लीहरु सफा गर्याैं । श्रमसँगै राजनीतिक छलफल र संगठन निर्माण गर्याैं, जसले जनता र पार्टी, नेता र कार्यकर्ता, कम्युनिस्ट र श्रमबीचको सम्बन्ध अरु गाढा बनायो ।
फापरबारी धनसाही सामुदायिक वन कार्यालयमा हाम्रो समीक्षा बैठक चल्दै थियोे । मोवाइल ड्युटी, सेन्ट्री, भान्सा, सप्लाई आदि सबै विभागहरु आआफ्ना काममा व्यस्त थिए । हामी झण्डै दुईसय अगुवा कार्यकर्ताहरु कहिले राष्ट्रिय राजनीतिकाबारेमा त कहिले आफैंभित्रको अन्तर्विरोधबारे, कहिले जनताबीचमा जाँदा देखिएका गलत कार्यशैली त कहिले व्यवस्थापन र परिचालनबारे बहस गर्दै थियौं । ठिक त्यहीबेला रोल्पाबाट इञ्चार्ज कमरेड सोनामको खबर आयो । ‘निर्मल, त्यहाँको सबै कामको जिम्मा DCS कमरेड सम्झनालाई लगाएर तपाईं काठमाडौं जानुहोला । विद्यार्थी केन्द्रीय कार्यालयसँग जोडिनुहोला ।’ भन्ने खबरको चिर्कटो खल्तीमा हालेर पुनः काममा लागियो । सायद रोल्पामा पार्टी CC को बैंठक चल्दै थियो , त्यहींबाट मलाई खबर आएको हुनुपर्छ । पार्टी, नेता र आन्दोलनलाई आदर्श र आदेशको रुपमा बुझ्ने हामी कार्यकर्ता; किन ? जान्न वा जान्छु केही नभनी त्यसको भोलिपल्ट जिल्ला पार्टीको सबै जिम्मा DCS कमरेड सम्झनालाई थमाएर काठमाडौं हिंडियो ।
सहरमा लगाउने कपडा थिएन । पाटन ओकुवहालमा एकजोर सर्टपाइन्ट सिलाएर खबर आएको चौथो दिनबाट पुतलीसडकस्थित विद्यार्थी कार्यालयसँग जोडिएर काम गर्न थालें । सम्मेलन आयोजना हुँदै थियो । अध्यक्ष बनाउने निर्णय भएछ क्यारे भन्ने लाग्यो । अनुत्तरित र आशंकित विषय र मनसँगै न उत्तर पाउनेगरी कसैसँग जिज्ञासा सोधियो न कुनै नेताको कोठा र ढोका नै चहारियो । न मिडियाहरुमा लेख र अन्तर्वार्ता नै आयो न साथीहरूलाई यो यो पद दिउँला मलाई सहयोग गर भन्दै छचन्डाइयो । न म तेजाबी कार्यकर्ता थिएँ न मेधाबी नै । न म बौद्धिक थिएँ न चतुर नै । न इच्छा थियो अध्यक्ष बन्ने न महत्वाकांक्षा र लालसा नै । आवश्यकतालाई सम्बोधन गर्ने निर्णय र जिम्मेवारी होला भन्ठानेर एक वाक्य हुन्छ वा हुँदैन नभनी ०६० असारमा जिम्मेवारी लिएको त्यो अवस्था । तर आज संस्कार, अभ्यास र मूल्य पुरै भत्किए जस्तो, उपभोक्तावाद, डन र धनवाद मौलाएको जस्तो । आफैंले आफैंलाई अब्बल राजा घोषणा गरेको र व्यवहार प्रस्तुत गरेको दृष्यले खिन्नताभित्र भिन्न अनुभूति भएकै छ ।
