चीनसँगको भिडन्तमा तीन भारतीय सैनिक मारिए

काठमाडौं । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् ।

मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही रहेको एजेन्सीहरुले जनाएका छन् ।

सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको बताइएको छ ।

सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको धेरै लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारको विषयलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने जुन ६ तारिखका दिनमा वार्ता पनि भएको थियो ।

यद्यपि, सोमबार राति गोली हानाहान भएको छ ।

भारतीय सेनाका प्रवक्ताले एक वक्तव्य जारी गर्दै भारतीय भूमीमा सेनाका एक अधिकारी र दुई जवान मारिएको पुष्टि गरेका छन् । वक्तव्यमा अहिले दुबै पक्षका वरिष्ठ सैनिक अधिकारीहरुबीचमा वार्ता भइरहेको र स्थिति सहज बनाउने प्रयास भइरहेको उल्लेख छ ।

चीनले भने भारतीय सैनिकले सीमा नाघेर झडपको अवस्था सृजना गरेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार मात्र भारतीय सेनाले दुईपटक सीमा पार गरेको उल्लेख गरेका छन् ।

भारतीय सैनिकहरुले चिनियाँ सुरक्षाकर्मीमाथि आक्रमण गरेकाले गम्भीररुपमा झडप भएको उनले बताएका छन् । तर झपमा चिनियाँ सैनिकतर्फ क्षतिको बारेमा केही उल्लेख बताइनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *