फ्लोरिडामा बिजनेस जेट दुर्घटना हुँदा नौ जनाकै मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा निजी बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौ जनाको ज्यान गएको छ ।

स्थानीय समयअनुसार आइतबार दिउँसो पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै रहेको आवासीय क्षेत्रमा विमान खसेको हो । अमेरिकी यातायात मन्त्रीका अनुसार विमान दिउँसो करिब १२ः५० बजे दुर्घटनामा परेको थियो । दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–ए–लागो रिसोर्टबाट करिब १४ किलोमिटर टाढा रहेको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार लियरजेट ६० सिरिजको उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ गइरहेको थियो । दुर्घटनापछि विमानका टुक्राहरू आवासीय सडकमा छरिएका थिए भने घटनास्थलमा ठूलो आगलागी भएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमान आकाशबाट लगभग ठाडो रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूलो आगोको मुस्लो उठेको देखिन्छ ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनास्थलको अवस्था निकै भयावह रहेको बताएका छन् । उनका अनुसार विमानमा सवार व्यक्तिहरूको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिको मृत्यु वा घाइते भएको विवरण भने प्राप्त भएको छैन ।

अमेरिकी यातायात मन्त्री शोन डफीले घटनालाई दुःखद त्रासदी भन्दै राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)को नेतृत्वमा हुने अनुसन्धानमा सहयोग गर्न एफएएले टोली परिचालन गर्न लागेको जानकारी दिएका छन् ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

— बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *