काठमाडौं । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र वक्ताका रुपमा सहभागी भएका थिए । कार्यक्रममा उनीहरुले एक अर्कालाई व्यंग्यसमेत गरेका थिए । तर त्यसको भोलिपल्ट अर्थात् मंगलबार बिहान रविन्द्र मिश्र प्रचण्डलाई भेट्न खुलटारस्थित प्रचण्ड निवासमा पुगे । प्रचण्डसँगको भेटको विषयबारे मिश्रले सामाजिक संजालमार्फत सात बुँदामा राखे । भेटमा प्रचण्डले राजा महेन्द्र ‘भिजनरी’ राजा रहेको, देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा आफू रहेको तथा राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो भनेको मिश्रले उल्लेख गरेका छन् । मिश्रले सामाजिक संजालमा यसरी प्रचण्डसँगको भेटको विषयबारे जानकारी गराएपछि यो खबर संचारमाध्यमका ‘हेडलाइन’ बने ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालै प्रचण्ड र मिश्रबीचको भेटको विषयवस्तुप्रति आपत्ति जनाए । भट्टराईले गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट नआएको भन्दै केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन नसक्ने प्रतिक्रिया दिए ।
मिश्रले भेटको विषयवस्तुबारे जानकारी गराएपछि धेरैले प्रचण्डप्रति धेरैले विभिन्न टिप्पणी गरेका छन् । यदि प्रचण्डले मौका पाए उनले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर अर्को व्यवस्था ल्याउनसमेत पछि नपर्ने जस्ता टिप्पणी गरे । यसरी दुई नेताबीचको भेटको विषयवस्तुलाई लिएर नकारात्मक टिप्पणी हुन थालेपछि बल्ल बुधबार बिहान प्रचण्डको सचिवालयले मिश्रको भनाईको खण्डन गर्यो ।
सचिवालयले भन्यो,‘प्रचण्डका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन । पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्रजी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’
प्रचण्डको सचिवालयले समाचारको खण्डन गरेपनि प्रचण्डप्रति भने आशंका धेरैले गरेका छन् ।
राजनीतिक विश्लेषक डम्बर खतिवडाले यस्तो टिप्पणी गरेका छन्, ‘एक नयाँ राजावादी जोगीले कमरेड प्रचण्डलाई भेटेर राम्रै खरानी घसेछन् । जसको जौ खानु उसैको जुँगा उखेल्नु भने जस्तो जसको चिया पिउनु उसैको बदनाम गर्नु राजनीतिको गज्जब काइदा हो । सिगान पुछिदिने निहुँमा नाक काट्दिने भेटघाटले कुन्ठाको तुष्टिकरण होला, चिहानका मुर्दा उखेलिने छैनन् ।’
अर्का राजनीतिक विश्लेषक मुमाराम खनालले दाहालको महत्वाकांक्षालाई सम्बोधन गरिदिने हो भने उनले राजा त के राणा शासन पनि ल्याउन तयार हुने टिप्पणी गरेका छन् । उनले भने, ‘खण्डन–मण्डन पनि आएछ । तर एउटा कुरा सत्य हो– दाहालको महत्वाकांक्षालाई सम्बोधन गरिदिने हो भने उनले राजा त के राणा शासन पनि ल्याउन तयार हुन्छन् । आफैं सकिएका दाहालले अर्को सकिएको संस्था ल्याउने कुरा त हाँस्यास्पद नै होला । तर राजनीतिको बासी रोटी सेकाउन यस्ता भेटघाट मनोरञ्जक पनि हुन्छन् ।’
पूर्वसभामुख दमननाथ ढुंगानाले प्रचण्ड र मिश्रबीचको भेटप्रति भने आशंका गरेका छन् । उनले यो प्रचण्डले कुनै कदम चाल्ने पूर्वसंकेत त होइन भन्दै प्रश्न गरेका छन् उनको प्रश्न छ, ‘रविन्द्रजी र प्रचण्डजी बीचको खण्डित मन्दित बहुचर्चित संवादको अर्थ के ? उस्तै परेमा, म अर्को पत्ती पनि खेल्न सक्छु भन्ने पूर्वसंकेत त हैन ?’
यो पनि
