राणाकाल र पञ्चायतमा पनि नभएको लाजमर्दो निर्णय !

नारायण गाउँले ।
कस्तो लाजलाग्दो कुरा ! श्रीलङ्काका लागि राजदूत सिफारिश गरिएका रामकृष्ण भट्टराईले स्नातक तहको प्रमाणपत्र पनि पेश गर्न सकेनछन् । कूटनीति पनि हाम्रो लागि यति सस्तो खेल र व्यवसाय हुन थाल्यो । अमेरिका या बेलायतबाट राजदूत बनेर आउँदा तिनले नेपाली भाषा, संस्कृति, इतिहास, राजनीति सबै पढेर, बुझेर आउँछन् । कति त फरर नेपाली बोल्ने गरी आउँछन् । जबकी तिनलाई अंग्रेजी मात्रै बोले पनि पुग्छ । राजदूत छान्दा नै तिनले सकेसम्म अध्ययन र पृष्ठभूमि त्यो देशसँग गाँसिएको हेर्छन् । एउटा दक्ष, योग्य र वाक्पटु राजदूतले देशको स्वार्थ र चासोलाई संरक्षण गर्न सक्छ । देशको इज्जत राख्न सक्छ ।

हाम्रा राजदूत मजाकजस्ता बन्न थाले । द्विपक्षीय, बहुपक्षीय अन्तर्राष्ट्रिय फोरमहरूमा तिनले कनीकुथि लिखित नोट पढ्नेबाहेक बलियो लबिङ, छलफल या सम्झौताका पृष्ठभूमि तयार गर्न सक्दैनन् । देशको इज्जत, प्रतिष्ठा, स्वार्थ, छवि भन्दा हामीलाई कार्यकर्ता र पैसा ठूलो हुनथाल्यो । कार्यकर्ता भएपछि स्वागत गर्ने चारपाँच जना मान्छे हुने नै भए । तिनैलाई खादामाला गर्यो, तलबभत्ता पचायो, कार्यकाल सक्यो ! देशको चिन्ता कसलाई छ र ?
यस्तो दुर्गति त राणाकाल या पञ्चायतमा पनि थिएन । नातागोताबाट राजदूत बने पनि ती योग्यता र क्षमतामा अब्बल हुन्थे । तिनको इतिहास पढ्दै गर्दा आज पनि शिर उच्च नै हुन्छ । आज युग बदलियो । यस्तो प्रतिस्पर्धी र बहुआयामिक विश्वमा झन् बढ़ी योग्य र दक्ष व्यक्ति पठाउनुपर्ने हो । यस्तो सुन्दै लाज लाग्ने खबर कति पढ्नु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *