काठमाडौं । प्रतिनिधिसभाको भदौ ३१ गतेको बैठकमा ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेश भएको थियो । समितिका सभापति सूर्य थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई सभामुख देवराज घिमिरेले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाउन संसद सचिवालयलाई निर्देशन दिएका थिए । प्रतिवेदनमा सहकारी ठगी प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन उपाध्यक्ष छविलाल जोशी, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलविरुद्ध अनुसन्धान गर्न सिफारिस गरिएको छ । पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको छानबिन समितिले फेला पारेको छ । गत बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै पारित गरेको थियो । गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न प्रहरी प्रमुख वसन्त कुँवरलाई निर्देशन दिए । गृहमन्त्रीको निर्देशनलगत्तै गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीलाई प्रहरीले काठमाडौंमा पक्राउ गरी पोखरा पठायो । यिनको गल्ती होला आफ्नो भागको गल्तीको सजाय भोग्लान् या सफाइ पाउलान् त्यो समयले देखाउला । प्रहरीले बिना प्रतिरोध जोशीलाई पक्राउ गर्यो र उनी लुरुलुरु हिंडे किनकी यिनको पछाडि भिड थिएन, राजनीतिक दल थिएन र कराउने क्षमता थिएन ।
तर छविलाल पक्राउपछि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने हल्ला फैलियो । त्यसपछि रास्वपाका नेता कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन निर्देशन दिइयो र पार्टी कार्यालयमा भिड जम्मा भयो । भिड बढेपछि रास्वपा कार्यालयमा पुगेको प्रहरी टोली फर्केको थियो । आइतबार झण्डै मध्यरात हुनै लाग्दा लामिछानेले भिडलाई सम्बोधन गर्दै आफू नडराएको बताए । उनले यो दुई तिहाईको सरकारको भर नभएकाले अलर्ट रहन नेता कार्यकर्तालाई निर्देशन दिए । सम्बोधनका क्रममा उनले पक्राउ गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत सरकारलाई दिए । सम्बोधनमा उनले सरकार र कांग्रेस र त्यसमा पनि गगन थापाप्रति बढी आक्रोश पोखेका थिए । यो सम्बोधनले पनि रविलाई चित्त बुझेन । अनि रविले मध्यरातपछि अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू भन्दै धम्कीपूर्ण भाषामा फेसबुकमा एउटा स्टाटस लेखे । उनले लेखे, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू, फर्केर आउनुस्, बसेर कुरा गरौं, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…।’
रास्वपाका नेताहरुले त रवि पक्राउ परे निलो क्रान्ति गर्ने भन्दै धम्कीसमेत दिएका छन् । छवि पक्राउ पर्दा उनका आफन्त कतै बोलेको सुुनिएन तर रवि पक्राउ पर्ने हल्ला मात्रै चल्दा यस्तो कोकोहालो भएपछि भने सामाजिक संजालमा रास्वपाप्रति नकारात्मक टिप्पणी बढी भएका छन् ।
राजनीतिक विश्लेषक मुमाराम खनालले रविले कानुनी प्रक्रियालाई सघाउनुको विकल्प नभएको बताएका छन् । उनको भनाई छ, ‘दलमा काण्डै काण्डका चाङ त छँदै थिए । कानुनको कसीमा पनि रास्वपाले कहिल्यै नमेटिने कालो धब्बा बनाएको छ । नैतिकता भिडले निर्धारण गर्दैन, बरु स्वीकारोक्तिसहित कानुनी प्रक्रियालाई सघाएर मात्र सम्भव छ ।’
अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडाले भने नयाँ दल भनिएपनि रास्वपा कांग्रेस एमाले भन्दा नदेखिएको टिप्पणी गरेका छन् । उनको टिप्पणी छ, ‘खुमबहादुर खड्कालाई माला लगाउन जेल पुग्ने कांग्रेस, ओली सरकारको पालामा यति, ओम्नी, भुटानी शरणार्थी र गिरिबन्धु काण्ड हुँदा चुइँक्क नबोल्ने एमाले र गोर्खा मिडिया प्रालि सहकारी ठगी प्रकरणमा लामिछानेको बचाउ गर्ने रास्वपा फरक दल तर एउटै सोच र चरित्रका मान्छे हुन– भिन्न हैनन् ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलले भने पक्राउ पर्ने हल्लाले रवि लामिछाने डराएको भन्दै व्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘गाउँघरमा पुलिस आएको हल्ला मात्र चल्दा बाहिर खेल्न गएका केटाकेटीहरु आत्तिएर घर फर्किन्थे, घरमा भएका केटाकेटीहरु बा भन्दै अभिभावक पुकार्थे । पुलिस आएको छ कि छैन हेर्ने फुर्सद कसैको हुँदैनथ्यो । केटाकेटी राजनीतिमा आएको काठमाडौंमा हिजो ठीक यस्तै भयो जस्तो छ ।’
सामाजिक संजालमार्फत डा. रामेश कोइराला दोषी भए छवि, रवि, धनराज जो भएपनि जेल हाल्नुपर्ने बताउँछन् । उनको भनाई छ, ‘ओ दाजु–दिदीहरू, उहिले एउटा भारतीय चटकीले बौद्धमा दुईमुखे नागको चटक देखाएर नेपाली ठग्दाताकाका पैसा बटुल्ने जमुरेहरूजस्तो नबन के ! दलको पदाधिकारीको निजी ठगीमा दल नै त सती जान पर्दैन हउ ! तिम्रा मानिस निर्दोष भए अदालतमा लड, प्रमाण देऊ र साबित गर, तर विवेक गुमाएर चटकीको सती त नजाऊ ल ! सो पैसो अपचलनमा दोषी ठहर भए सुधीर, इच्छाराज, रवि, छवि, जीबी, धनराज वा ऋषि वा स्वयम् पशुपतिनाथ नै किन नहुन्, पक्रेर जेल हाल्ने र जायजेथा बेचेर गरीबको पैसो फिर्ता गर्ने । कुरो तेरो वा मेरो भगवानको हैन, भुइँमान्छेको न्यायको हो ।’
विद्या भण्डारी राष्ट्रपति हुँदा उनका संचारविज्ञ रहेका टीका ढकाल कुनै व्यक्तिले जब गिरफ्तार हुन लाग्दा प्रधानमन्त्री र मन्त्रीहरुलाई तथानाम गाली गर्छ, त्यसबाट ऊ जेल जाँदैछ भन्ने बुझ्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘गिरफ्तार हुँदै गरेको वा हुन लागेको हरेकजस्तो ‘अपराधी’ले प्रधानमन्त्री÷ मन्त्रीको नाम लिएर तथानाम भन्ने रैछन् । तर, सहानुभूति बटुल्ने यो निन्जा टेक्निक पनि अब भुत्ते भो । कसैले उफ्री उफ्र त्यसरी गाली गर्दैछ भने त्यसले छिटै जेल जाने तहको कुकर्म गरेको छ भनी बुझ्नुपर्ने रैछ !’
नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाँणलाई पक्राउ गर्दा, टोपबहादुर रायमाझीलाई पक्राउ गर्दा देशकै ठूला अनि पुराना दल(खराब भनिएका)का कर्यकर्ता यसरी निस्केका थिएनन् जसरी अहिले हामी सुशासनको नमुना हौं भन्ने पार्टीका कार्यकर्ता त्यत्रो आरोप लागेको व्यक्तिलाई बचाउन निस्केका छन् । आउला त यसरी सुशासन ? अनि रास्वपाको नैतिकता यो भिडले निर्धारण गर्ला त ?
