येचुरीलाई पनि सायद रमाइलो लाग्ला भनेर हामीले रेड स्क्वायरमा फोटो खिचेका थियौं

जीवा लामिछाने ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरी बितेछन् । मस्कोमा उनीसँग भेट हुँदाको एक सम्झना यहॉ शेयर गर्न मन लाग्यो । रेड स्क्वाएर, मस्कोको एक कुनामा लेनिन, स्टालिन र जार निकोलस द्वितीयको नक्कली रुप धारण गरेर उस्तै पोशाक र हाउभाउमा तीन जना मानिस उभिइरहेका हुन्छन् । क्रेमलिन, रेडस्क्वाएर घुम्न आउने पर्यटकहरु यस्ता प्रतिरुपी (impersonator) नेतासँग उभिएर फोटो खिच्न लाइनै लाग्ने गर्छन् । फोटो खिचे बापत पाइने केही रकमबाट सायद उनीहरुको गुजारा पनि चल्दो हो । एकपटक नक्कली लेनिन र स्टालिनले एकआपसमा पिटापिट गर्दा एकजना घाइते भएको घटना सार्वजनिक भएको थियो ।

केहीवर्ष अघि पूर्वप्रधानमन्त्री झलनाथ खनाल मस्को भ्रमणमा रहनु हुँदा मैले उहाँलाई क्रेमलिन र रेड स्क्वाएर घुमाउन लगेको थिएँ । लेनिन र जार निकोलस द्वितीयको दुरुस्त प्रतिरुप देखेपछि सम्झनाका लागि एउटा फोटो खिचौं कि भन्ने कुरा निस्क्यो । एकापट्टी नक्कली लेनिन अर्कोपट्टी जार निकोलस द्वितीय र बीचमा कामरेड जेएन उभिएको फोटो मैले खिचें ।

त्यसबखत मस्को भ्रमणमा रहेका भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका नेता तथा तत्कालीन राज्यसभा सदस्य सीताराम येंचुरी र भाकपाका अर्का नेता डी. राजासँग त्यसैदिन साँझ डिनर खाने हाम्रो योजना थियो । रेडस्क्वाएरको त्यो प्रसंग येचुरीलाई पनि सायद रमाइलो लाग्ला भनेर दिउँसो हामीले खिचेको फोटोसहित रेड स्क्वाएरका नक्कली लेनिन र जार निकोलस द्वितीयका बारेमा मैले उनलाई सुनाएँ ।

उनी बडो रसिक र हाजिरीजवाफी शैलीका नेता रहेछन् । नक्कली लेनिन र स्टालिनका साथमा कामरेड जेएनको फोटो देख्नासाथै उनले वातावरण बडो रमाइलो बनाएका थिए । उनले भने, ‘नेपालका हाम्रा कम्युनिस्ट साथीहरु संधैभरि यसरी एकापट्टी लेनिन र अर्कापट्टी राजशाहीलाई च्यापेर बस्न मन पराउने भएकोले देश यतिका वर्षसम्म पनि अलमलमै छ !’ भारतीय संस्थापन पक्षले नेपालमा नाकाबन्दी लगाउँदा यचुरीले संसदमा त्यसको कडा प्रतिवाद गरेका थिए । नेपालका असल मित्र सीताराम यचुरीप्रति हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *