सरकारले ल्याएका ३९ विधेयक स्वतः निष्क्रिय

काठमाडौँ । सरकारले ल्याएका ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । पाण्डेले भने, ‘‘सभा नभएपछि स्वतः विधेयक निष्क्रिय भएका छन् । प्रतिनिधि सभाको हकमा ३८ विधेयक छन् । प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन एक विधेयक छ ।’’

संवैधानिक व्यवस्थाअनुसार विधेयक विचाराधीन रहेको अवस्थामा अधिवेशन सकिएमा त्यस्ता विधेयक अर्को अधिवेशनमा कारबाही गर्न मिल्नेछ तर कार्यकाल सकिए वा विघटन भएमा विधेयक निष्क्रिय हुनेछन् । संविधानको धारा १११(१०) को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।’

संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका विधेयकको कारबाही प्रक्रिया भने अगाडि बढ्नेछ । ती विधेयक सभाबाट पारित भएर बस्नेछन् । हाल १८ वटा विधेयक राष्ट्रिय सभामा विभिन्न चरणमा विचाराधीन छन् ।

कुन कुन विधेयक निष्क्रिय

अभिलेखअनुसार प्रतिनिधि सभामा दर्ता मात्र भएका शान्ति सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक, कर्जा सूचना विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) विधेयक निष्क्रिय भएका छन् । यस्तै प्रतिनिधि सभामा प्रस्तुत भएका निकासी पैठारी नियमन विधेयक, सैनिक (पहिलो संशोधन) विधेयक, सार्वजनिक खरिद (तेस्रो संशोधन) विधेयक, प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण विधेयक पनि निष्क्रिय भएका छन् ।

निष्क्रियको सूचीमा राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधि सभामा टेबुल भएका नेपाल मिडिया काउन्सिल विधेयक, काठमाडौँ उपत्यका सार्वजनिक यातायात विधेयक, नेपाल विशेष सेवा विधेयक, नीति अनुसन्धान प्रतिष्ठान विधेयक, बिरुवा संरक्षण विधेयक, बीउबिजन (दोस्रो संशोधन) विधेयक पनि परेका छन् ।

प्रतिनिधि सभाका विभिन्न समितिमा विचाराधीन बीमा विधेयक, सङ्घीय निजामती सेवा, सूचना प्रविधि विधेयक, सार्वजनिक ऋण व्यवस्थापन, कारागार तथा धितोपत्रसम्बन्धी लगायत १० विधेयकलगायत निष्क्रिय भएका हुन् । त्यसैगरी समितिले दफावार छलफलपछि प्रतिवेदन बनाएका  लोकसेवा आयोग विधेयक, खानेपानी तथा सरसफाइ विधेयक, नेपाल नागरिकता (पहिलो संशोधन) लगायत पाँच विधेयक छन् । दोस्रो अधिवेशनबाट विचाराधीन रहेको नागरिकता विधेयक संसद्बाट पारित हुन असफल भएकाे छ ।

प्रतिनिधि सभामा विचाराधीन रहेका पाँचवटा गैरसरकारी विधेयक पनि निष्क्रियको सूचीमा परेका छन् । गाँजा खेती (व्यवस्थापन) विधेयक तथा नेपालको संविधान संशोधन विधेयक चारवटा विधेयक निष्क्रिय भएका हुन् । राष्ट्रिय सभामा रेल्वेसम्बन्धी विधेयक, भ्रष्टाचार निवारण, अख्तियार दुरुपयोग अनुसन्धान (तेस्रो संशोधन), नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, हवाई सेवा प्राधिकरण विधेयक, तथ्याङ्क विधेयक, प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, सामाजिक सुरक्षा (प्रथम संशोधन) विधेयक, अभिलेख संरक्षण विधेयकलगायत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *