काठमाडौँ । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने दोहर्याएको छ । प्रतिनिधिसभा विघटन तथा नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरी प्रतिनिधिमण्डलको नेपाल भ्रमणबारे प्रेस ट्रस्ट अफ इन्डियाका पत्रकारको प्रश्नको जवाफ दिदैँ चीनकाे विदेश मन्त्रालयका प्रवक्ता चाओ लि चियनले चीन अहस्तक्षेपका सिद्धान्तमा प्रतिबद्ध रहेको बताएका हुन् । नेपालमा हुने राजनीतिक परिवर्तनलाई उसको “आन्तरिक मामिला” भन्दै चीनले कुनै हस्तक्षेप नगर्ने बताउँदै आएको छ ।
सोमबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता चाओले महामारी रोकथाम, शासन सञ्चालन तथा विकास परियोजनामा सहकार्य, द्विपक्षीय चासाेका विषयमा छलफल गर्न चिनियाँ टोली नेपाल भ्रमणमा गएको स्पष्ट पारे । चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै प्रमुख राजनीतिक दलसँग समान र मित्रवत् सम्बन्ध कायम राखेको उल्लेख गर्दै प्रवक्ता चाओले भने, “चिनियाँ कम्युनिस्ट पार्टी स्वतन्त्रता, पूर्ण समानता, आपसी सम्मान र एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्त मान्छ ।”
नेपाल कम्युनिस्ट पार्टीमा देखा परेका मतभेद समाधान गर्न चीनले मध्यस्थताको भूमिका निर्वाह गर्छ कि भन्ने भारतीय पत्रकारको प्रश्नमा प्रवक्ता चाओले नेपालको राजनीतिक विकासको बारेमा भने चिनियाँ पक्षले “नोट” गरेको जानकारी दिए । नेपालको मित्र र नजिकको छिमेकीको रूपमा चीन “नेपालमा सम्बन्धित सबै पक्षहरू राष्ट्रिय हित र समग्र परिस्थितिबाट अघि बढ्नेछन्, आन्तरिक मतभेदहरूलाई उचित ढङ्गले व्यवहारिक समाधान गर्नेछन् र राजनीतिक स्थिरता तथा राष्ट्रिय विकासको लागि प्रतिबद्ध हुनेछन्” भन्ने कुरामा आशावादी रहेको बताए । उनले आपसी राजनीतिक विश्वास बढाउन, व्यवहारिक सहकार्यलाई प्रबर्द्धन गर्न तथा दुई मुलुकबीच मित्रता बढाउन चीनले सकारात्मक भूमिका खेल्न सक्ने पनि बताए ।
