विज्ञान भविष्यमा जहाँसम्म पुगेपनि बुद्ध वचनहरुको सार्थकता र गुरुवाणीहरुको महत्व घट्ने छैन

विजयकुमार पाण्डे ।
यहाँ बोल्न मलाई अलिकति असजिलो महसुस हुँदैछ । तपाईंहरु भर्खर १६ – १८ वर्षका हुनु होला । अबको २० वर्षमा संसार कस्तो हुनेछ ? हावापानी कस्तो हुनेछ ? मान्छेको जीवनशैली कस्तो हुनेछ ? मान्छेको मनोदशा कस्तो हुनेछ ? यसको कुनै पनि अनुमान गर्न सकिन्न । किनभने विकास र विनाश दुबैको चक्र यति बेगले मानव इतिहासमा कहिल्यै घुमेको थिएन, जति बेगले हिजोआज घुम्दैछ र भविष्य झन घुम्नेवाला छ । आर्टिफिसियल इन्टेलिजेन्स ( एआई) लगायतका प्राविधिक विकासले मान्छेलाई कहाँसम्म पुर्याउँछन् वा कहाँ लगेर बजार्छन्, आज कसैले ठोकुवा भन्न सक्दैन । कसैले पनि सक्दैन । त्यस्तो विश्वमा बाँच्नु पर्ने तपाईंहरुलाई, म आजै के भनु ? के नभनु ? भन्ने सोचले मलाई असजिलो भएको हो । केही समय अघि एआईमा काम गर्ने एक विश्वस्तरीय वैज्ञानिक चोकिनिमा रिम्पोचेको दर्शन गर्न आएका थिए । उनलाई चोकिनिमा रिम्पोचेले भन्नुभयो, ‘विज्ञान भविष्यमा जहाँसम्म पुगे पनि बुद्ध वचनहरुको सार्थकता र गुरुवाणीहरुको महत्व घट्ने छैन । जबसम्म पृथ्वीमा जीवन रहनेछ, तबसम्म–प्रेम, करूणा, समानुभाव, सहानुभुतिभाव, सहयोगी भावनाहरु पनि कायमै रहनेछन् । किनभने यी गुण नरहेको अवस्थामा, मानव जीवन पनि रहने छैन ।’

यो सुनेपछि ती वैज्ञानिकले श्रद्धाले गुरु चरण स्पर्श गरे । तपाईंहरु, आज यहा उपस्थित विद्यार्थीहरुले के कस्तो दुनियाँको सामना गर्नु पर्नेछ ? म अनुमान गर्न सक्दिन । तर म यति कुरा दोहोर्याउन जरुर चाहन्छु–भोलि दुनियाँ जस्तोसुकै आएपनि–तपाईंहरु प्रेम, करुणा, समानुभाव र सहयोगका केही अंश लिएर बाँच्नु भयो भने जीवन सरल र सुखी हुने चान्स छ । मलाई नयाँ भन्नु केही छैन । संसार जतिसुकै नयाँ भएपनि, जतिवटा नयाँ नयाँ पुस्ता संसारमा आएपनि, एउटा कुरा सर्वकालिक रहने छ– Be good ! That is the essence ! Be Good – That is the path and that itself is the goal !

( केहीदिन अघि Uniglobe School द्वारा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार  पाण्डेले राखेका विचार )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *