चिनियाँ टोली राजनीतिक भेटघाटमा

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री क्ववाे ये चौ नेतृत्वको प्रतिनिधि मण्डल राजनीतिक भेटघाटमा व्यस्त भएको छ । टोलीले सोमबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । प्रचण्डलाई भेट्न चिनियाँ टोली सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेको थियो । भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रचण्डसँगको भेटपछि टोलीले नेपाललाई बानेश्वरस्थित एभरेस्ट होटलमा भेटेको थियो । भेटमा पछिल्लो विकसित राजनीतिक विषयमा छलफल भएको बताइएको छ । टोलीले आजै वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट्ने बताइएको छ ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो । नेताहरुसँगको भेटवार्ता अघि चिनियाँ टोलीले चिनियाँ दूतावास हाउ यान्छीसँग वस्तुस्थितिको ‘ब्रिफिङ’ लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *