प्रधानमन्त्रीलाई सुमनाको प्रश्नः पहिला बच्चा जन्माइदेऊ, अनि विदेश जाने भएपनि जाऊ भन्न मिल्छ ?

सुमना श्रेष्ठ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूले साउन २९ गते युवाहरुलाई सम्बोधन गर्दै ‘बच्चा जन्माऊ भन्ने आग्रह’ गर्नु पूर्व यस्तो परिस्थति किन आयो, यसका लागि के कस्ता भन्ने आधारभूत कुराहरु सल्टाउनु पर्छ भन्ने कुराहरुमा ध्यान नदिने भए यो पनि अर्को खोक्रो भाषणमै सीमित हुने पक्का छ । नेपालमा घट्दै गएको प्रजननदरबारे पहिलेदेखि नै आवाज उठाउँदै आएकी छु । यो भिडियो असार ५, २०८० को हो। नेपालको लागि यो निकै नै गम्भीर समस्या हो। यो मुद्दामा हाम्रा शीर्ष नेताको ध्यानाकर्षण भएको देख्दा खुसी लाग्यो । अर्को डरलाग्दो तथ्याङ्क १०० केटी बच्चाको अनुपातमा ११२ केटा बच्चा जन्मेको देखिनु हो, चीनमा एक परिवार एक बालक नीति ताका जस्तो अनुपात पुग्ने गरी हाम्रोमा के भइरहेछ खोज होस् भन्नेबारे पनि आवाज उठाएकी थिएँ, सम्बोधन होस् ।

किन घट्दै छ प्रजननदर यसबारे शीर्ष नेताहरुले कसरी सोच्नु भएको छ ? सामाजिक परिवर्तन र करियरले प्राथमिकता पाउनु त छँदैछ, बच्चा नपाउनु वा कम पाउनुको एउटा प्रमुख कारण बच्चा हुर्काउन लाग्ने खर्च हो। सार्वजनिक शिक्षाको गुणस्तर खस्कँदो छ, निजी मंहगो छ, स्वास्थ्य क्षेत्र पनि उस्तै, जताततै महँगी छ । भनसुन र चिनजान भएकाले रोजगारीको अवसर पाउँछन्, अन्यलाई निकै गाह्रो छ । काम गर्छु, उद्योगधन्दा खोल्छु रोजगारी सिर्जना गर्छु भन्नेलाई कुनै पार्टीको फेरो नसमाते वा दाम नचढाए कर्मचारीतन्त्रले गोलचक्करमा घुमाउँछ । सरकारी सेवा, शिक्षा सेवा, सुरक्षा बल, न्यायालय कतै पनि राजनैतिक संरक्षण नभए जतिसुकै योग्य भएपनि वृत्तिविकास हुँदैन, स्वाभिमानी मान्छे टिक्ने अवस्था छैन । यस्तो अस्तव्यस्त देशमा युवाको जीवनमा स्थिरता हुँदैन, आय हुने टुंगो हुँदैन, परिवार बढाउने हिम्मत किन गर्छ कसैले ? बच्चा जन्मे पछि आफैं हुर्कन्छ ?

म पढ्नको लागि विदेश गएँ, धेरै जना रोजगारीको लागि विदेशिएका छन् । रोजगारी र पढाइको लागि विदेश जानैपर्ने अवस्था कायम राख्ने अनि पहिला बच्चा जन्माइदेऊ अनि जे जे गर्नुछ गर, विदेश जाने भए पनि जाऊ भन्न मिल्छ ? परिवार भनेको के हो ? जन्माएर मात्र पुग्छ ? शिक्षादीक्षा र संस्कार दिने जिम्मा हजुरबा–आमा पुस्तालाई छोडेर जानु ठिक हुन्छ ?
घट्दो प्रजननदर र अत्याधिक मात्रामा असन्तुलित लैंगिक अनुपात नेपालको सबैभन्दा महत्त्वपूर्ण मुद्दा मध्ये एक हो । अब यो ‘किन’ भइ रहेको छ भन्ने पहिल्याउँदै समाधान उन्मुख होऔं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *