डा. युवराज संग्रौला ।
झापाका डिल्ली रिजालको परिवार ब्याग बनाउँछ । यो मेहनती परिवार पटक पटक आँत्तिन्छ, कहिले बजारको अभावमा कहिले श्रम गर्ने मानिसप्रतिको हेलाको संस्कारबाट । समाजमा दुष्ट अराजकता र भ्रष्ट राजनीति मौलाएको छ। भ्रष्टहरु लुटिरहेका छन् र श्यालहरु भेडाको छाला ओडेर मानिसहरुमा भ्रम र निरासाको खेती गरिरहेका छन् । देशको विकास तब मात्र हुन्छ, जब हरेक नागरिक उत्पादनमा सरिक हुन्छ र राष्ट्रको सुरक्षा र गौरवप्रति बफादार बन्छ । त्यस्तो नागरिक इतिहासको अन्धकारतिर यात्रा गर्दैन, ऊ वर्तमानको कुशल निर्माण गर्दै भविष्यको सुनिश्चितताको यात्रा गर्छ । नागरिकलाई यस्तो मान्छे बनाउन सोच, सिद्धान्त र चिन्तनमा आधारित जागृतिको आवश्यक छ । धर्म, संस्कृति, शिक्षा , स्वास्थ्य र जीवनलाई नै व्यापार बनाएको पुँजीवादले सजिलै त्यसो हुन दिन्न । तसर्थ मुकाविला गर्ने बुद्धि र सक्रियता चाहिन्छ । तब मात्र डिल्ली रिजाल र जगतबहादुर जस्ताले देशको उत्पादनमा भूमिका प्राप्त गर्दछन् ।
१. अहिले देशमा दुईखालका मानिसको जमात छ । एउटा नागरिकप्रति जिम्मेवारहीन नेताको र अर्को सामाजिक संजालको प्रयोग गर्दै गन्धगी फैलाउने चटकेहरुको । यी दुबैको चाहना देश लुट्नु हो । तर थप एउटा जमात छ जो सत्य असत्य छुट्याउन सक्दैन । यिनीहरुलाई देशको प्रगतिशील परिवर्तन होइन, बांङ्लादेशका कोठामा पसेर सोफा र ब्रेसियर चोर्ने आन्दोलनकारीले गर्ने जस्तै आन्दोलन गर्नुछ ।
२. यो समय राष्ट्रलाई अगाडी बढाउने योजनामा जनतालाई एकताबद्ध गर्ने हो । अतः अब देशका देशभक्त जनताले उन्नत शिक्षा ढाँचाको निर्माण, जीवन रक्षा गर्ने स्वास्थ, देशलाई खाद्यान्नमा स्वनिर्भर बनाउने कृषि उत्पादन, बिचौलियाको शोषणबाट उन्मुक्त न्युनतम मूल्य प्रत्याभूत बजार, राष्ट्रका सबै संस्कृतिको संरक्षण, छिमेकीहरुसङ्गको सन्तुलित कुटनीति, लगानीको प्रवर्द्धन र राष्ट्रमा रोजगारीको उन्नयन जस्ता विषयमा छलफल गर्दै ‘वर्तमान भोटतन्त्रलाई सामाजिक नागरिकतन्त्र’ मा रुपान्तरण गर्ने बहस निर्माण गर्ने बेला आएको छ।
३. देशको उत्पादनमा नागरिकको उत्पादकत्व वृद्धि पहिलो शर्त हो । उत्पादकत्व प्रायोगिक शिक्षाले निर्माण गर्छ। यस्तो शिक्षा प्रगतिशील, देशभक्त र बैचारिक प्रतिस्पर्धामा बिश्वास गर्ने नागरिकको सहभागितामा आधारित सरकारबाट मात्र सम्भव हुन्छ।
४. राष्ट्र आज भ्रष्ट र निकम्मा मानिसको राज्यमाथिको नियन्त्रण र सडकमा अराजकताको निर्माणद्वारा अराजक र उद्देश्यहीन आन्दोलन गर्न चाहने स्वार्थीहरुबाट प्रताडित छ । अतः असल मानिसहरुले राष्ट्रको भविष्यप्रति चिन्ता र चिन्तन गर्नु आवश्यक छ ।
