काठमाडौं । बङ्ग्लादेशमा गत जनवरी महिनामा भएको निर्वाचनबाट शेख हसिना देशको प्रधानमन्त्री चुनिएकी थिइन् । बंगलादेशको ३५० सदस्यीय संसदमा हसिनाको पार्टी अवामी लिगको एक्लै २७१ सिट छ । जबकी विपक्षीसँग ७९ सिटमात्रै छ । बंगलादेशमा ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचित हुन्छन् भने ५० सिटमा समानुपातिक एवम् आरक्षणबाट चुनिने संवैधानिक व्यवस्था छ । चुनावमा धाँदली भएको आरोप लगाउँदै विपक्षी पार्टीहरूले बहिस्कार गरेका कारण हसिनाको दल अवामी लिगसँग एक्लै २७१ सिट छ । विपक्षीसँग स्वतन्त्र ६२ जनासहित ७९ सिट मात्रै छ । सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि उनले अन्ततः पदत्याग त्याग्नुका साथै देश नै छाड्नुपर्यो । सडकबाट सत्ताच्यूत भएपछि अब हसिनाको पार्टीको दुई तिहाईको बहुमतको कुनै अर्थ रहेन । उनले सत्तामा हुँदा विपक्षीलाई पेल्ने र मनलाग्दी निर्णय गर्नु नै उनी बहिर्गमनको कारक बन्यो । विद्यार्थी आन्दोलनमा तीन सय भन्दाबढीको मृत्यु भएको छ । उनले लिएको दमनको नीति नै दुई तिहाईलाई सडक विद्रोहले बढारिदियो । हसिनाले मुलुक छाडेलगत्तै देशको बागडोर सेनाले लिएको छ । उसले अब अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ ।
अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे र बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देशै छाडेर जानु पर्ने अवस्था उच्च शासकीय अहंकार, ‘आई एम दि स्टेट’ शैली र जनउपेक्षालेनै हो ।
अफगानिस्तान हुँदै श्रीलंका र बंगलादेशसम्म आइपुगेको यो लहरबाट नेपालले सिक्नुपर्ने विश्लेषण गर्न थालिएको छ ।
वरिष्ठ पत्रकार विजयकुमार पाण्डे सत्ताधारीले जनताले हेप्दा यस्तै परिणाम आउने टिप्पणी गर्छन् । उनी भन्छन्, ‘संसदमा ठूलो ‘बहुमत’ भएकी–बंगलादेशकी शेख हसिना प्रधानमन्त्रीको पद छोडेर हेलिकप्टरमा भागिन् । सत्ताधारीले कुनै पनि देशमा, जनतालाई त्यो हदमा नहेप्नु, यो दिन देख्न परोस् ! आम मानिसको अपराजेय शक्ति !’
त्यस्तै राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले बंगलादेशबाट नेपालले सिक्नुपर्ने बताउँछन् । उनको टिप्पणी छ, ‘सार्क सदस्य–राष्ट्रहरू–अफगानिस्तानका राष्ट्रपति अशरफ घानी २०२१ मा, श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे २०२२ मा र अहलिे बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश छाडेर विदेशमा शरण लिन बाध्य भएकी छन् ! जुन लोकतन्त्रका लागि दुर्भाग्यपूर्ण हो र नेपालका लागि ‘वेक अप कल’ पनि हो !’
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी छ, ‘नेपाली लोकोक्ति भन्छ–‘अति गरे खति हुन्छ !’
अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा नेपालका शासक वृत्तले देश र जनतालाई जर्जर र निरास बनाएकाले यसबाट नसिके यो नेपालमा पनि पस्ने बताउँछन् । खतिवडाको टिप्पणी छ, ‘हसिना शेख मुजिबरकी छोरी एक क्रान्तिकारी लोकतान्त्रिक परिवारकी सदस्य थिइन् । अन्ततः एक तानाशाह र लुटेरा शासक बनिन् । ४२ प्रतिशत मतदान भएको धाँधलीपूर्ण निर्वाचनलाई लोकतन्त्र सिद्व गर्ने उनको निर्लज्जता समाप्त भयो । कुनै बेलाका क्रान्तिकारी कसरी लुटेरा बन्छन् भन्ने एक उदाहरण बनिन् । लोकतन्त्रका नाममा लुटतन्त्र मच्चाउने शक्ति सम्भ्रान्तको हविगत श्रीलंकामा देखिएकै थियो, बंगलादेशमा थप पुष्टि भयो । हसिनाको हसिन पतन दक्षिण एशियाको अर्काे झिल्को हो । नेपालको शासकवृत्तले देश र जनतालाई यति जर्जर र निरास बनाएको छ–यिनको कुनै दिन यस्तै हालत हुने निश्चित छ।’
वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुन नेपालले बंगलादेशबाट पाठ सिक्नुपर्ने बताउँछन् । स्वदेशमै रोजगारी सृजना नगर्ने हो भने हाम्रोमा पनि यस्तै अवस्था आउनसक्ने उनी चेतावनी दिन्छन् । उनी भन्छन्, ‘बाङ्गलादेश बाट सिकौं–देशमा धेरै भन्दा धेरै कलेज र विश्वविद्यालयहरु खोलेर लाखौँ लाख युवाहरुलाई उच्च शिक्षा प्रदान गरेर मात्र पुग्दैन । पढाइ पुरा गरेका विद्यार्थीहरुलाई चाहिने उचित रोजगारीको सृजना सरकारले गर्न सकेन भने बङ्लादेशमा जस्तै युवाहरुले नेताहरूलाई लखेट्छन् । रोजगारी सृजना गर्ने एउटै र अचुक्त मन्त्र मैले मेरो आत्मकथाको किताबमा लेखेको छु । इच्छा हुनेले पढ्नुहोस् । मन्त्र हो–देशमा धेरै अनुसन्धान र नवप्रबर्तन केन्द्रहरु खोलेर उच्च प्रतिभाहरुलाई अनुसन्धान र नबप्रवर्तनमा लगाई उनीहरुलाई उद्यमी बनाउने उचित रोजगारी पाए पछि कसैले आन्दोलन गर्दैन ।’
लोकतन्त्रको कोणवाट यस्तो अवस्थाले अस्थिरतालाई अझ मलजल गर्छ । तर छिमेकको यो अवस्थालाई हामीले बडो मिहीनढंगले विश्लेषण गरेर अघि बढ्ने प्रण नगरे दुर्भाग्य हुन सक्छ । हाम्रा शासकहरु म सबैभन्दा माथि छु र मैले बोलेको नै अन्तिम सत्य हो भन्ने दम्भ र अहंकारले किचिएका छन् । छिमेकी छिटा यता पर्नु अगावै सच्चिनु, सुध्रिनु र चेत्नु वाञ्छनिय छ, धेरै लोकतन्त्रको ध्वाँसले मात्र अब पुग्दैन ।
