काठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री क्वाे ए चाै आइतबार नेपाल आउने भएका छन् । उनको नेपाल भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ ।
पार्टी विभाजनको पीडामा रहेको नेकपालाई उनको भ्रमणले केही मल्हम लगाउने आंकलन गरिएको छ । नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपप्रमुख समेत रहेका क्वाेकाे भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाएको बताइएको छ । वरियतामा उनी विदेश विभागका प्रमुख सोङ थाओपछिका दोस्रो नेता हुन् ।
संसद विघटनपछि दुवै पक्षका नेताले एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका बेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर उपमन्त्री क्वाे नेपाल भ्रमणमा आउन लागेको जानकारी गराएकी थिइन् । चार सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौँमा चार दिन रहने छ ।
