प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीले लिए सपथ (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषदमा थपिएका मन्त्रीले आजै साँझ राष्ट्रपति भवन शितलनिवासमा सपथ लिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, मणि थापा खानेपानी तथा सरसफाई, प्रभू साह सहरी विकास र प्रेम आले वन तथा वातावरण मन्त्री भएका छन् । त्यसैगरी गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गर्दै विमला बिकलाई उक्त जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई संस्कृित, पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाइएको छ ।

कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेलाई भूमिव्यवस्था मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठलाई कानून मन्त्री बनाइएको छ । भूमिव्यवस्था मन्त्री पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्री भएका छन् ।

पुनर्गठनबाट युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गरिएको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल पक्षका पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भूसाल, उर्जामन्त्री वर्षामान पुन, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले राजीनामा दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *