बालुवाटारलाई बालुवामा पुरिएका नागरिकबारे के चासो र फुर्सत होस् !

नारायण गाउँले ।
सिङ्गै बस बाढ़ीले बगाएको छ, दर्जनौँ यात्रीको अझै अत्तोपत्तो छैन । सयौं आफन्तहरूको हाल के होला ? आफ्नो घरखेत बाढ़ीले बगाएपछि ओत लाग्न छिमेकीको घर पुगेका नागरिकलाई पहिरोले पुरेको छ । कति ठाउँमा टुहुरा बनेका कलिला छोराछोरीले पहिरोमा आमाको शव खोज्दै छन् । देशमा राष्ट्रिय शोकको अवस्था छ । तर काठमाडौंलाई कुनै चिन्ता छैन । “बिजनेस एज युजुअल“ छ । पार्टी बैठक बसेका छन्, ह्वीपका लागि । भोट दिने र नदिने निर्णयका लागि । संसदमा बहस भएको छ तर कसले कसलाई धोका दियो भन्ने खुट्याउनका लागि । बौद्धिक वर्ग छलफलमा व्यस्त छ, संविधानको कुन धारा आकर्षित हुन्छ भन्नका लागि । पत्रपत्रिका भरिएका छन् ओली, देउवा र प्रचण्डका लागि । कानुन बन्दा खाली देखिने संसदको सिट आज एउटा पनि खाली छैन तर त्यो एकअर्कालाई गाली गर्नका लागि । वर्सौंदेखिका उस्तै तुच्छ आरोप र प्रत्यारोप अनि त्यसको बचाउका लागि ।

दुई वटा बसको ठाउँमा ट्विनअटर जहाज खसेको भए शायद पत्रपत्रिका त्यही खबरले भरिन्थे । शोक र अनिश्चयले विक्षिप्त आफन्तसम्म नेता र पत्रकार पुगिसक्थे । देश शोकमय देखिन्थ्यो । तर यहाँ कर्णालीको पहिरोदेखि बस र बसमा हिँड्ने नागरिक–जीवनको मूल्य राजनीतिभन्दा माथि के हुन्थ्यो र ? कस्तो क्रूर र निर्दयी राजनीति छ हाम्रो । सिंहदरबारदेखि शीतलनिवाससम्म सबै अभूतपूर्व रूपमा सतर्क, जागा र व्यस्त छन् । तर बालुवाटारलाई बालुवामा पुरिएका नागरिकबारे के चासो र फुर्सत होस् अनि घरबार र आफन्त गुमाएका हजारौँ नागरिकको आँसुले शीतलनिवासलाई के पोलोस् । पोल्ने र बोल्ने विषय अर्कै छ ।

दुई तिहाई सांसदहरू बधाईको स्ट्याटस लेख्न ठिक्क परेर बसेका छन् । कोही अदालत जान फाइल बोकेर बसेको छ । कार्यकर्तादेखि मन्त्रालयसम्मका कर्मचारी हातमा फूल बोकेर नयाँ मन्त्रीको स्वागत गर्न बिहानैदेखि ढोकामा बसेका छन् । पत्रकारहरू सात बुँदे सहमति कसले छिटो चुहाउने भनेर ढुकेर बसेका छन् । पहिरोमा पुरिएको आफन्तको शव कुरेर बसेको नागरिकले तिरेको करले बालुवाटारमा फेरि पनि बैठक र भोज चलि नै रहनेछन् । देशी विदेशी षड्यन्त्र चिर्दै देशलाई नयाँ दिशा दिन गठबन्धन सफल भएका विज्ञप्ति आउनेछन् र हामी ताली ठोकिरहनेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *