एजेन्सी । इंग्ल्याण्ड र स्पेन युईएफए युरोकपको क्वाटरफाइनलमा पुगेका छन् । आइतबार राति भएको अन्तिम १६ को खेलमा इंग्ल्याण्डले स्लोभाकियालाई २-१ गोलले पराजित गरेको हो ।
साल्केमा भएको खेलमा इंग्ल्याण्डलाई जित दिलाउन जुडे बेल्लिन्घाम र ह्यारी केनले समान एक/एक गोल गरे । स्लोभाकियाको लागि इभान स्चरान्जले एक गोल गरे । खेलको २५ औं मिनेटमा स्चारान्जले गोल गर्दै स्लोभाकियालाई १-० गोलको अग्रता दिलाएका थिए ।
हारको संगारमा रहेको इंग्ल्याण्डलाई बेल्लिन्घामले दोस्रो हाफको इन्जुरी समयको पाचौं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । ९१ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इंग्ल्याण्ड २-१ गोलको जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो । अब इंग्ल्याण्डले क्वाटरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ ।
गएरातिनै भएको अर्को खेलमा जर्जियालाई ४-१ गोलले हराउँदै स्पेन क्वाटरफाइनलमा पुगेको छ । कोलोग्ने स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले समान एक/एक गोल गरे । जर्जियाले एक गोल उपहार पाएको हो ।
अब स्पेनले सेमिफाइनल प्रवेशको लागि आयोजक जर्मनीको सामना गर्नेछ ।
