गणेश कार्की ।
पार्टीभित्र यो ‘ओपन सेक्रेट’ हो । त्यो बेला १२ क्लस्टरमा प्राइमरी भएको कुरालाई ६ वटा क्लस्टर बनाएर आफ्नो मान्छे पार्न जति हतकण्डा अपनाइयो, त्यो बारेमा पार्टीमा सबैलाई थाहा छ । तर कोही बोल्दैनन् । हो, पार्टी बिग्रिन थालेको त्यहींबाट हो । विधि फ्यालेर आफ्ना च्याप्ने हुँदा पनि कोही नबोलेर हो । पिछडिएको क्षेत्रबाट खसआर्य महिला ल्याउनु पर्ने भएपछि त्यसले खसआर्य खुला क्लस्टरको मान्छेलाई कसरी उछिट्याउँछ भनेर प्रश्न गर्ने कोही नभएर हो ।
यस्ता सानासाना कुराहरू जसले गलत गर्दै हिड्यो, उसका विरूद्धमा बोलिएन, बरू समर्थन गरियो । अनि उहि मान्छे अहिले पार्टी बिग्रियो भनेर सार्वजनिकरूपमा कराउँदै हिड्दा पनि मौनता ? यो नयाँपन होइन । पार्टीको कुरा पार्टीभित्र मिलाउनु पर्छ भन्दै आवाज थुन्ने र लाचार बस्ने परम्परागत प्रवृति हो ।
लालबिक्रम थापाजीलाई धन्यवाद । उहाँले समानुपातिक सांसद छनौट हुँदै गर्दा पार्टी कार्यालयमा गएर आन्दोलन नै गर्नु भएको थियो । जसले समानुपातिक सांसद छनौट प्रक्रियालाई नै विधिबाट पर पुर्याएको थियो । ढिलो गरेर भए पनि आफ्नो गल्ती महसुस गर्नु भएछ । लेख्नु भएछ । यो भन्दा पहिले पनि केही साथीहरूले केन्द्रीय समितिको बैठकमा नै गणेश कार्कीप्रति अन्याय गरियो, यो बैठकबाट माफी मागौँ भन्दा सो कुरा सबैको मौनताले पुरिदिएको पनि अहिले सम्झिरहेको छु । खासमा त्यो माफी मागिएको गणेश कार्कीका लागि थिएन, पार्टीको प्रवृति र चरित्रमा धब्बा लगाएर हामीलाई विश्वास गरेकाहरूप्रति गरेको घातका लागि माफी थियो ।
अहिले बालेनलाई सहयात्री मान्न पर्छ भनेर लेख्दै गर्दा गणेश कार्की बालेनको साथी हो, सांसद भयो भने यसले पार्टी फुटाउँछ भनेर अरूलाई बरालिदिएको सम्झना भो कि भएन होला ? सोच्छु । त्यो पढ्दै गर्दा साथीहरूलाई पार्टीले गरेका गल्तीप्रति आत्मलोचना गरौँ भन्ने लाग्यो कि लागेन होला ? अन्याय गरेको टुलुटुल हेरेर, अन्याय गर्नेहरूलाई नै शिरमा राखेर कुन नयाँपन पाइएला र ? कस्तो परिवर्तन ल्याइएला र ? विधि मिचेर, आममानिसलाई समेत गलत जानकारी दिएर श्रीमतीका साटो गर्लफ्रेन्डलाई सांसद बनाउने बाटो हुँदै नै हामीले परिवर्तन पाउने हो र ? तपाईहरू चुपचाप बसिदिनाले त्यो दिन घण्टीमा लागेको धब्बाको कालो अहिले पूरा घण्टीभर फैलिएको छ । तपाईहरू बोलिदिने हो भने हट्न सुरू हुन्छ । पक्का !
कार्की रास्वपाका केन्द्रीय सदस्य हुन् ।
