काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संसद् विघटनको संयुक्तरूपमा प्रतिवाद गर्ने सहमति गरेका छन् ।
नेकपाकै पहलमा कांग्रेस संसदीय दलको कार्यालयमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको जसपाका कार्यकारी परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।
अध्यक्ष भट्टराईले ट्विट गर्दै भनेको छन्, ‘जसपा, नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो, प्रम केपी ओलीको संसद् विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक, निरंकुश रहेको ठहर गरियो ।’
संसद् विघटनका विरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी बनेको उनले जानकारी दिएका छन् । बैठकमा ‘यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस्’ भन्ने प्रश्न पनि गरिएको भट्टराईले ट्विटमा लेखेका छन् ।
जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो।प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो।यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो!
— Baburam Bhattarai (@brb1954) December 20, 2020
बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी थिए ।
त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र डा. मीनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।
