काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आयोजक वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ । आइतबार राति भएको खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी(पीएनजी) लाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । वेस्ट इन्डिजको जितमा रोस्टन चेजले अविजित ४२ रन बनाए । यस्तै ब्रान्डन किङले ३४, निकोलस पुरनले २७ रन जोड्दा कप्तान रोभमन पावेल र आन्द्रे रसेलले समान १५ रन बनाए।
पीएनजीका कप्तान असद भालाले दुई विकेट लिए। जोन कारिको, एलेइ नाओ र चाड सोपेरले समान एक विकेट लिए।
यसअघि प्रोभिडेन्स स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा आएको पीएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
पीएनजीका शेशे वाउले ५० रनको योगदान गरे। किप्लिन डोरिगाले २५ रन बनाउँदा कप्तान असद भालाले २१ र चार्ल्स एमिनीले १२ रन जोडे । वेस्ट इन्डिजका अल्जारी जोसेफ र आन्द्रे रसेलले समान दुई विकेट लिए । अकिल हुसैन, रोमारियो सेफर्ड र गुडाकेस मोटेले समान एक विकेट लिए ।
