एसोसिएसन अफ नेपालिज इन अमेरिकाजको अध्यक्षमा इञ्जिनियर भट्टराई निर्वाचित

काठमाडौँ । अमेरिकामा रहेका नेपाली समुदायको पुरानो संस्था एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए)को सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराइको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । नयाँ वर्ष २०२१ जनवरी १ देखि नयाँ समितिले नेतृत्व लिनेछ । यो वर्षको समापनसँगै वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले नवनिर्वाचित अध्यक्ष विजयराज भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्नेछन् ।

अहिले निर्वाचित १० सदस्यीय कार्यसमितिमा अमेरिकामा विभिन्न राज्यहरुमा बसोबास गर्ने अनुभवी, विभिन्न पेशामा ख्यातिप्राप्त व्यक्तित्वहरु निर्वाचित भएका छन् । नयाँ कार्यकारी समितिकाे वरिष्ठ उपाध्यक्षमा बाल्टिमोरका चर्चित सामाजिक अभियन्ता तथा बानाका पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन ।

एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजाअनुसार उपाध्यक्षहरुमा डा. तुल्सी धरेल (क्यानडा), शैलेन्द्र बहादुर खत्री (पूर्वीय क्षेत्र), डा. दुर्गा दाहाल (पश्चिमी क्षेत्र), महासचिवमा डा. चुणामणि खनाल, सहसचिवमा बिनय गौतम, कोषाध्यक्षमा डा. उषा शर्मा, सहायक कोषाध्यक्षमा राधाकृष्ण धमला, युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएका छन् । समितिका सदस्यहरु भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने एएनएको विधानमा उल्लेख छ ।

सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रियस्तरको मुनाफारहित सामाजिक संस्थामध्येको एक हो । स्थापनाकालदेखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक विषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *